धनगढी: देशकै उत्कृष्ट स्थानीय तहको रूपमा पटक-पटक पुरस्कृत र सम्मानित धनगढी उप-महानगरपालिका भित्रै एउटा यस्तो ‘नर्क’ छ, जहाँका बासिन्दाले २२ वर्षदेखि सडकको कालोपत्रे देख्न पाएका छैनन्। मुख्य सडकबाट मुस्किलले अढाई किलोमिटरको दूरीमा रहेको अम्बिका टोल का बासिन्दाहरू बर्खामा हिलो र हिउँदमा धुलोको सास्ती भोग्न बाध्य छन्, जबकि उनीहरूको यो पीडालाई नेतृत्वले भाषण र आश्वासनको ‘मलम’ मात्रै लगाउँदै आएको छ।
धनगढी उपमहानगरपालिका वडा नं. ११ र १३ को सीमाक्षेत्रमा अवस्थित यो बस्तीमा २०–२२ वर्षदेखि मानिसहरूको बसोबास छ। बाँसखेडाबाट दक्षिण र विमानस्थलको उत्तरतर्फ रहेको यो बस्ती कुनै नयाँ प्लटिङ होइन, तर यहाँको बाटोको अवस्था भने कुनै कच्ची गोरेटोभन्दा फरक छैन। सामान्य वर्षा हुँदा बाटोमा ठूलाठूला खाल्डाखुल्डी पर्छन् र पानी जमेर पोखरी बन्छ, जसका कारण पैदल हिँड्न समेत असम्भव हुन्छ।
‘सुत्केरी बोक्न एम्बुलेन्स आउँदैन, ५ सय तिरेर अटो चढ्नुपर्छ’
सडकको यो दयनीय अवस्थाले स्थानीयको दैनिकी कष्टकर बनाएको छ। बिरामी पर्दा एम्बुलेन्स घरसम्म आउन मान्दैन, जसका कारण कैयौंले समयमै उपचार नपाउने जोखिम मोल्नुपरेको छ। सार्वजनिक यातायातको त कुरै छोडौं, कुनै अत्यावश्यक काम पर्दा अटो वा रिक्सा खोज्नुपरेमा ५०० देखि ७०० रुपैयाँसम्म भाडा तिर्नुपर्ने बाध्यता रहेको स्थानीय प्रकाश चन्दले बताए ।
नेतृत्वको मौनतामा प्रश्न: के नागरिक हुनुको अर्थ यत्ति हो?
निर्वाचनका बेला विकासको नारा लगाउने र भोट माग्न घरदैलो गर्ने जनप्रतिनिधिहरू चुनाव जितेपछि समस्या बुझ्न नआएको स्थानीयको गुनासो छ। ‘धनगढीका उत्कृष्ट मेयर’ को चर्चा चलिरहँदा, आफ्नै नाकको डाँडीमुनि रहेको यो बस्तीको उपेक्षाप्रति यहाँका बासिन्दाले गम्भीर प्रश्न उठाएका छन्—के धनगढी उपमहानगरपालिकाका नागरिक भएर आधारभूत सडक र नालीको माग गर्नु गलत हो?
बाटो पिच, नाली र ढल निकासको व्यवस्था, खानेपानी र फोहोरमैला व्यवस्थापन यहाँका बासिन्दाको कुनै ‘विशेष सुविधा’ को माग नभई अधिकारको लडाईं हो। अब आश्वासनको खेती बन्द गरेर ठोस योजना, समयसीमा र कामको परिणाम दिने बेला आएको स्थानीयले चेतावनी दिएका छन्। शहरको चकाचौँधमा मात्रै होइन, समस्याग्रस्त बस्तीको गल्लीमा देखिने विकास नै वास्तविक विकासको कसी हुनेछ।
यस्तो छ अम्बिका टोलको हिलाम्मे बाटोको यथार्थ तस्बिर:







प्रतिक्रिया दिनुहोस्