कैलाली : कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। भजनी नगरपालिका-४ कुडीस्थित भजनी-सुखड सडकखण्डमा गए राति मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किँदा दुर्घटना भएको हो।
प्रहरीका अनुसार बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-०१२ प १६५१ नम्बरको मोटरसाइकल सडक छेउको सालको रुखमा ठोक्किएको थियो। दुर्घटनापछि तीव्र गतिमा रहेको मोटरसाइकल सडकबाट करिब २० मिटर तल नालीमा खसेको थियो।
दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका मोटरसाइकल चालक, भजनी नगरपालिका-१ मधुवन शिविर निवासी अन्दाजी ३० वर्षीय मुकेश चौधरीलाई तत्काल उद्धार गरी एम्बुलेन्समार्फत प्राथमिक स्वास्थ्य केन्द्र भजनी लगिएको थियो। तर, अस्पताल पुर्याएलगत्तै राति करिब ९:४० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मृतक चौधरीको शव अहिले प्राथमिक स्वास्थ्य केन्द्र भजनीमै राखिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्