समृद्धिको प्रतीक्षामा कैलालीको गोदावरी

कैलाली : मलाई समय समयमा घर  आइराख्न मन लाग्छ र म आइपनी राख्छु किनकि  बाल्यकालका सम्झना, आफन्तसँगको भेटघाट र गाउँघरको आत्मीयताले मनमा छुट्टै उत्साह जगाउँछ । सधैझै यसपालि दशैँको अवसरमा पनि आफ्नो घर कैलाली फर्किँदै थिएँ। तर यसपटक घर फर्किँदै गर्दा मेरो मनमा विगतका वर्षहरूमा भन्दा केही फरक प्रश्नहरू उठिरहेका थिए।अत्तरिया बजार हुँदै आफ्नो घरतर्फ अघि बढिरहँदा मनमा अनेकौँ कुरा खेल्न थाले। यही ठाउँमा जन्मिएका, हुर्किएका र भविष्यका सपना देखेका हामीले कल्पना गरेको गोदावरी कस्तो थियो?  आजको गोदावरी कस्तो छ ? अनि अबको १०-१५ वर्षपछि हाम्रो गोदावरी कस्तो हुनुपर्छ?

मेरो मनमा खेलीरहेको थियो बाल्यकालमा मैले जुन अवस्थामा देखेको आफ्नो आँगनको बसपार्क, दुर्गालक्ष्मी क्याम्पस, अत्तरिया चोकलगायतका महत्त्वपूर्ण स्थानहरू आज पनि अपेक्षित रूपमा परिवर्तन हुन सकेका छैनन्। समय फेरिएको छ, पुस्ता फेरिएको छ, हामी बाल्यकालबाट युवावस्थामा पुगिसकेका छौँ, तर यी ठाउँहरूको अवस्था हेर्दा विकासको अनुभूति गर्न कठिन हुन्छ। जहाँ व्यवस्थित पूर्वाधार, स्वच्छ वातावरण र आधुनिक सहरको झल्को देखिनुपर्ने हो, त्यहाँ अझै पनि हिलो, धुलो, फोहोर र अव्यवस्थाले हाम्रो स्वागत गरिरहेको छ। बाल्यकालमा देखेका दृश्यहरू आज पनि उस्तै देख्दा दुःख लाग्छ। अझ विडम्बना त के छ भने, परिवर्तन र विकासको सपना बोकेर हुर्किएको हाम्रो पुस्तालाई समेत यी उस्तै दृश्यहरूले निराश बनाइरहेका छन्। हामीले बाल्यकालमा देखेको गोदावरी र आजको गोदावरीबीच केही त फरक देख्न पाउनुपर्ने होइन र ?

मनले आफैँलाई प्रश्न गरिरहेको थियो यति धेरै सम्भावना भएको हाम्रो नगर किन अझै अपेक्षित विकासको प्रतीक्षामा छ ? सँगैको धनगढ़ी सहर यति अगाडि बढिसक्दा हामी आज पनि किन यति पछाडि छौ? किन यहाँका युवाले आफ्नै ठाउँमा भविष्य खोज्न सकेका छैनन?  किन व्यापार, पर्यटन, कृषि र उद्यमशीलताको यति ठूलो सम्भावना हुँदाहुँदै पनि हामीले त्यसलाई समृद्धिको आधार बनाउन सकेका छैनौँ? यी प्रश्नहरू कुनै व्यक्ति वा नेतृत्वप्रतिको असन्तुष्टि मात्र थिएनन्। यी त आफ्नै जन्मभूमिप्रतिको माया, यहाँको भविष्यप्रतिको चासो र एउटा सम्भावनायुक्त नगरलाई विकसित भएको हेर्ने चाहनाबाट जन्मिएका प्रश्नहरू थिए।म आफ्नो नगर कस्तो होला भनेर सोचिरहेको मान्छे हुँ। अझै पनि सोचिरहेको छु मेरो गोदावरी कस्तो हुनुपर्छ होला? यही प्रश्नको उत्तर खोज्ने प्रयासमा मनमा उब्जिएका केही विचार, सम्भावना र परिकल्पना यहाँ प्रस्तुत गर्न चाहन्छु।

कैलालीको गोदावरी नगरपालिका केवल नेपालको एउटा स्थानीय तह मात्र होइन, यो सिंगो सुदूरपश्चिमको आर्थिक, सामाजिक, सांस्कृतिक र भौगोलिक सम्भावनाको महत्त्वपूर्ण केन्द्र बन्न सक्ने सामर्थ्य बोकेको पालिका हो।राष्ट्रिय जनगणना २०७८ अनुसार करिब ९८ हजार ७४६ जनसंख्या, १२ वटा वडा र ३०८.६३ वर्ग किलोमिटर क्षेत्रफल भएको गोदावरीसँग प्राकृतिक स्रोत, व्यापारिक अवस्थिति, जनशक्ति र विकासका अनेक सम्भावना छन्।पूर्व–पश्चिम राजमार्ग र पहाडी जिल्लातर्फ जाने सडक सञ्जालको संगम अत्तरिया बजार, चुरेदेखि तराईसम्मको भौगोलिक विविधता, गोदावरी धाम, नदी, ताल तथा प्राकृतिक सम्पदाले यस नगरलाई विशेष बनाएका छन्। यस पालिकाकको मुटु को रुपमा रहेको अत्तरिया बाजार सुदूरपश्चिमका पहाडी तथा तराईका जिल्लाहरूलाई जोड्ने महत्त्वपूर्ण प्रवेशद्वार हो। यहाँबाट प्रदेशका विभिन्न जिल्लामा आवतजावत, व्यापार, शिक्षा, स्वास्थ्य र प्रशासनिक सेवा विस्तार गर्न सकिने सम्भावना छ। तर प्रश्न उठ्छ यति धेरै सम्भावना भएको मेरो नगर आज किन अपेक्षाअनुसार अगाडि बढ्न सकेको छैन?

व्यापारीले अपेक्षाअनुसार व्यापार विस्तार गर्न सकेका छैनन्। युवाले आफ्नै ठाउँमा रोजगारी र उद्यमशीलताको पर्याप्त अवसर भेट्न सकेका छैनन्। शिक्षित जनशक्ति अवसरको खोजीमा बाहिरिइरहेको छ। धुलो, फोहोर, छाडा चौपाया, अव्यवस्थित सहरीकरण, पार्किङ र वातावरणीय समस्या अझै चुनौतीका रूपमा छन्। तर मलाई लाग्छ, यी समस्या केवल चुनौती होइनन्, सही योजना, प्राथमिकता र कार्यान्वयन भएमा यिनै समस्या विकासका अवसरमा रूपान्तरण हुन सक्छन्।

गोदावरीको भौगोलिक अवस्थिति यसको सबैभन्दा ठूलो शक्ति हो। अत्तरियालाई सुदूरपश्चिमका नौवटै जिल्लालाई जोड्ने व्यापारिक, यातायात, शैक्षिक, स्वास्थ्य र सेवा केन्द्रका रूपमा विकास गर्न सकिन्छ।यसका लागि व्यवस्थित बजार पूर्वाधार, सार्वजनिक यातायात, पर्याप्त पार्किङ, आधुनिक बसपार्क, व्यवस्थित सडक सञ्जाल र नागरिकमैत्री सार्वजनिक सेवाको आवश्यकता छ। अत्तरियालाई केवल बाटोमा पर्ने बजारका रूपमा होइन, सुदूरपश्चिमको आर्थिक गतिविधि सञ्चालन हुने केन्द्रका रूपमा विकास गर्ने सोच आवश्यक छ।

कृषि पनि गोदावरीको समृद्धिको महत्त्वपूर्ण आधार बन्न सक्छ। चुरेको पहाडी भूभागमा वातावरणमैत्री फलफूल खेती, मौरीपालन, मसला तथा उच्च मूल्यका कृषि उत्पादन र तराईमा आधुनिक तरकारी खेती, खाद्यान्न, फलफूल, पशुपालन तथा दुग्ध व्यवसायको विकास गर्न सकिन्छ।थोपा सिँचाइ, जलवायु मैत्री कृषि , कृषि यान्त्रीकरण, माटो परीक्षण, शीतभण्डार, कृषि उपज सङ्कलन केन्द्र, प्रशोधन उद्योग र व्यवस्थित बजार प्रणालीमार्फत किसानलाई आधुनिक कृषि उद्यमीसँग जोड्नुपर्छ।किसानले उत्पादन गरेको वस्तु बिक्री गर्न बजार खोज्दै भौँतारिनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ। स्थानीय उत्पादनलाई स्थानीय बजार, होटल, विद्यालय, अस्पताल तथा अन्य संस्थागत उपभोक्तासँग जोड्ने प्रणाली विकास गर्न सकिन्छ। कृषि सहकारी र निजी क्षेत्रको सहकार्यमा उत्पादन, सङ्कलन, प्रशोधन र बजारीकरणलाई एकीकृत गर्न सकिन्छ।

त्यस्तै, गोदावरी धाम, नायल ताल, लामी ताल र चुरे क्षेत्रलाई धार्मिक, पर्यावरणीय तथा साहसिक पर्यटनसँग जोडेर स्थानीय रोजगारी र व्यवसाय विस्तार गर्न सकिन्छ। धार्मिक तथा प्राकृतिक पर्यटनका सम्भावनालाई व्यवस्थित पूर्वाधार, पदमार्ग, सूचना केन्द्र, सरसफाइ, सुरक्षा र स्थानीय उत्पादनसँग जोड्न सके पर्यटन र स्थानीय आर्थिक गतिविधि दुवै बढाउन सकिन्छ।अबको गोदावरीले परम्परागत व्यवसायमा मात्र निर्भर रहनु हुँदैन। सूचना प्रविधि, डिजिटल सेवा, सफ्टवेयर विकास, नवप्रवर्तन केन्द्र, स्टार्टअप, डिजिटल उद्यमशीलता तथा प्रविधिमा आधारित साना उद्योगको विकास गर्नुपर्छ। स्थानीय युवालाई डिजिटल सीप र उद्यमशीलताको अवसर दिएर गोदावरीलाई सुदूरपश्चिमको प्रविधि तथा नवप्रवर्तन केन्द्रका रूपमा विकास गर्न सकिन्छ।

यसै गरी गोदावरीबाट शिक्षा, रोजगारी र अवसरको खोजीमा देशका विभिन्न सहर तथा विदेश पुगेका शिक्षित युवा, बुद्धिजीवी, चिकित्सक, इन्जिनियर, प्राध्यापक, अनुसन्धानकर्ता, कृषि विज्ञ र उद्यमीहरू छन्। उनीहरूले देश तथा विदेशमा हासिल गरेको ज्ञान, सीप, अनुभव, प्रविधि र पुँजीलाई आफ्नै जन्मभूमिको विकाससँग जोड्न सके गोदावरीको समृद्धिमा महत्त्वपूर्ण योगदान पुग्न सक्छ। यसका लागि नगरपालिकाले गोदावरी प्रतिभा तथा लगानी सञ्जाल निर्माण गर्न सक्छ। यसमार्फत देश तथा विदेशमा रहेका गोदावरीवासीलाई विकास योजना निर्माण, प्राविधिक परामर्श, अनुसन्धान, नवप्रवर्तन, उद्यमशीलता र स्थानीय लगानीमा सहभागी गराउन सकिन्छ। बाहिर रहेका प्रतिभालाई केवल आर्थिक सहयोगदाताका रूपमा होइन, नगर विकासका ज्ञान साझेदार र परिवर्तनका संवाहकका रूपमा हेर्नुपर्छ।साथै संघीय तथा प्रदेश सरकारका कार्यक्रम, राष्ट्रिय विकास साझेदार, संयुक्त राष्ट्रसंघीय निकाय, अन्तर्राष्ट्रिय विकास साझेदार, द्विपक्षीय सहयोग संस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था र विश्वविद्यालयहरूसँग रणनीतिक सहकार्य विस्तार गर्नुपर्छ।

विकासको अर्थ सडक र भवन मात्र होइन, स्वस्थ नागरिक पनि हो। गोदावरीमा गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा, मातृ तथा बाल स्वास्थ्य, पोषण, ज्येष्ठ नागरिकको हेरचाह र स्वास्थ्य बीमामा पहुँच सुनिश्चित गर्नुपर्छ। नसर्ने रोगको रोकथाम, नियमित स्वास्थ्य परीक्षण, स्वस्थ खानपान, शारीरिक गतिविधि तथा मानसिक स्वास्थ्य सेवामा पनि जोड दिनुपर्छ। विशेषगरी युवाको मानसिक स्वास्थ्यलाई प्राथमिकता दिँदै विद्यालय, समुदाय र स्वास्थ्य संस्थामा परामर्श तथा सहयोगको व्यवस्था गर्नुपर्छ।गोदावरीको बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय पहिचान हाम्रो सम्पत्ति हो। डोटेली, अछामी, थारू लगायत भाषा, गौरा, माघी, दशैँ, तिहार तथा अन्य सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ। सांस्कृतिक महोत्सव, साहित्य, कला र खेलकुदमार्फत नयाँ पुस्तालाई आफ्नो पहिचानसँग जोड्न सकिन्छ। फुटबल, क्रिकेट, भलिबल, कबड्डी र एथलेटिक्सका लागि आवश्यक पूर्वाधार निर्माण गरी स्थानीय प्रतिभालाई प्रोत्साहन गर्नुपर्छ।

सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी क्षेत्रमा स्थापना गर्ने परिकल्पनालाई प्रशासनिक संरचना निर्माणमा मात्र सीमित नराखी योजनाबद्ध सहरीकरण, शिक्षा, स्वास्थ्य, व्यापार, लगानी, यातायात र रोजगारी विस्तारको अवसरका रूपमा लिनुपर्छ। चुरे संरक्षण, वातावरणीय सन्तुलन र स्थानीय समुदायको हितलाई केन्द्रमा राखेर विकास अघि बढाउनुपर्छ। गोदावरीलाई पहाडी जिल्लाका उत्पादन, व्यापार, पर्यटन, लगानी र रोजगारी जोड्ने सुदूरपश्चिमको महत्त्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सकिन्छ।

मेरो चाहना कुनै ठूलो छैन तर मेरो चाहना पालिकाको नेतृत्व तह बाट छाडा चौपायाको समस्या व्यवस्थित पशुपालन र जैविक मल उत्पादनसँग जोडियोस, फोहोर व्यवस्थापन पुनःप्रयोग र कम्पोस्ट उद्योगसँग जोडियोस, बेरोजगारीलाई उद्यमशीलता र प्रविधिमा आधारित रोजगारी सिर्जनाको अवसर बनाइयोस, धुलाम्मे र अव्यवस्थित बजार स्वच्छ, सुरक्षित र व्यवस्थित सहरमा रूपान्तरण होस। नेतृत्वले स्पष्ट लक्ष्य, समयसीमा, पारदर्शी बजेट र मापनयोग्य उपलब्धिसहित काम गर्नुपर्छ। रोजगारी सिर्जना, किसानको आय, लगानी, शिक्षा, स्वास्थ्य र नागरिकको जीवनस्तरमा आएको परिवर्तनका आधारमा विकासको नियमित मूल्याङ्कन हुनुपर्छ।

म यस्तो जनप्रतिनिधिको अपेक्षा गर्छु, जसले नगरको सीमाभन्दा माथि उठेर गोदावरीलाई सुदूरपश्चिमको आर्थिक, प्रशासनिक, शैक्षिक, सांस्कृतिक, स्वास्थ्य तथा प्रविधिको केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन दृष्टिकोण राखोस्।म गोदावरीलाई यस्तो अवस्थामा देख्न चाहन्छु, जहाँ बाहिरिएका युवा फर्केर आफ्नो भविष्य देख्न सकून्, विज्ञले आफ्नो ज्ञान र सीप यहीँ उपयोग गर्न सकून्, किसानले उचित मूल्य पाऊन्, व्यापारीले लगानीको वातावरण पाऊन्, नागरिकले गुणस्तरीय स्वास्थ्य तथा शिक्षा सेवा प्राप्त गरून् ।

मलाई केवल विकसित गोदावरीको सपना देखाइएको होइन, विकास भएको गोदावरीमा बाँच्ने अवसर चाहिएको छ किनकि मेरो सपना एउटा नगरको विकासमा मात्र सीमित छैन, मेरो सपना गोदावरीसँगै सिंगो सुदूरपश्चिमको समृद्धि हो।

लेखक :- हेमराज भट्ट (रास्वपा केन्द्रिय सदस्य तथा शिक्षा अभियान्ता)

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार