क्यामरा अगाडि ‘स्टन्ट’ र अनुगमनको नाटक: सांसद केपी खनालको ‘क्यामरा राजनीति’ र अलपत्र आश्वासन

धनगढी : निर्वाचित भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कान्छा सांसद केपी खनालले देखाएको ‘छड्के अनुगमन’ र ‘एक्सन मोसन’ को चर्चा यतिबेला सेलाउँदै जाँदा स्थानीय जनतामा भने ठूलो निराशा र आक्रोश उत्पन्न भएको छ। संसद बने लगत्तै क्यामरा र सामाजिक सञ्जालका टोली बोकेर सुदूरपश्चिमका विभिन्न निकायमा छिरेका खनालको दौडधुप केवल ‘डिजिटल भ्युज’ र ‘स्टन्ट’ मा मात्रै सीमित भएको पुष्टि हुँदै गएको छ।

निर्वाचित भएपछि सांसद खनालले सबैभन्दा बढी चर्चा सुदूरपश्चिमको प्रेषण अस्पताल मानिने सेती प्रादेशिक अस्पतालबाट कमाएका थिए। अस्पतालमा कैलाली क्षेत्र नं. ५ का माननीय आनन्द बहादुर चन्द र अन्य टोलीसहित पुगेर उनले व्यवस्थापनलाई र्‍याख्र्याख्ती पारेका थिए र मन्त्रालयहरूमा सीधै फोन घुमाएर तत्काल सुधार गर्न ठूला निर्देशन दिएका थिए। उक्त अनुगमनको भिडियो सामाजिक सञ्जालमा भाइरल भए पनि व्यावहारिक परिणाम भने शून्य छ। अस्पतालमा न सर्वसाधारणले सहजै औषधि पाउने अवस्था बनेको छ, न त घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हटेको छ। क्यामरा अगाडि मन्त्रालयका पदाधिकारीलाई फोन गरेर सुधारको पहल गरिरहेको देखाए पनि मन्त्रालयबाट न बजेट निकासा भयो, न त भौतिक पूर्वाधार र जनशक्तिको समस्या समाधान भयो। स्थानीय सेवाग्राहीहरू भन्छन्, “सांसद आए, भिडियो खिचाए, फेसबुकमा हाले अनि गए, तर अस्पतालको अवस्था हिजो जस्तो थियो आज पनि उस्तै छ।”

अस्पताल मात्र होइन, धनगढी उपमहानगरपालिकाभित्र रहेको वडा प्रहरी कार्यालयको जग्गा प्राप्ति, भौतिक संरचना निर्माण तथा स्थानीय विकासका मुद्दाहरूमा पनि खनालले उस्तै शैली अपनाए। अत्यधिक जनघनत्व र ठूलो कार्यचाप रहेको वडा प्रहरी कार्यालय धनगढीको अवस्था निकै दयनीय छ। यहाँ सईको दरबन्दी भए पनि हाल काजमा इन्स्पेक्टरलाई खटाएर काम चलाइएको छ भने कार्यालयको भौतिक संरचना ध्वस्त छ र आफ्नै जग्गासमेत छैन। यस्तो नाजुक अवस्थाको निरीक्षण गर्न पुगेका खनालले त्यहीँबाट डीआईजी, प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयसँग समन्वय गरेर काम तुरुन्तै भइहाल्ने दाबी गरेका थिए। तर, निर्वाचनपछि अहिलेसम्म पनि ती प्रतिबद्धताहरूको कुनै औपचारिक प्रक्रिया वा फाइल अगाडि बढेको छैन।

सामाजिक अभियन्ताबाट राजनीतिको रोस्ट्रम सम्म पुगेका खनालबाट जनताले परिपक्व र संस्थागत पद्धतिको अपेक्षा गरेका थिए। तर, सांसद भइसकेपछि पनि उनले पुरानै शैलीलाई निरन्तरता दिँदै जनताका समस्यालाई कन्टेन्टमा परिणत गरेको गम्भीर आरोप लागेको छ। संसद् वा नीतिगत थलोमा ठोस कानुन र बजेटका लागि लड्नुको साट्टा आफ्नो टिमलाई भिडियो बनाउन लगाएर आफ्नो सामाजीक संजालमा राख्ने कार्यले प्रणालीगत सुधार ल्याउन सक्दैन। सामाजिक सञ्जालमा हिरोइज्म देखाएर भ्युज कमाउने, तर अनुगमनपछि त्यसको फलोअप र कार्यान्वयनमा कुनै चासो नदेखाउने प्रवृत्तिले खनालको स्टन्ट राजनीतिलाई छताछुल्ल पारेको छ। संसद्को रोस्ट्रममा पुगेका प्रतिनिधिले सस्तो प्रचारभन्दा पनि दीर्घकालीन नीति र प्रणाली सुधारमा काम गर्नुपर्नेमा, खनालको पछिल्लो गतिविधि भिडियो बनाउने र भुल्ने बाहेक केही साबित हुन सकेको छैन। यदि यस्तै कामलाई उनले विकास र अनुगमन मानिरहने हो भने, उनीप्रति जनताले देखाएको विश्वास छिट्टै निराशामा परिणत हुने निश्चित छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार