धनगढी : धनगढीकी २३ वर्षीया पूजा धानुकको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान पूरा गरेको छ।
श्रीमान्सहित परिवारका पाँच जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धीको मुद्दामा अनुसन्धान सकेर प्रहरीले बुधबार सरकारी वकिलको कार्यालयमा मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको हो।
प्रहरी स्रोतका अनुसार अनुसन्धानको मिसिल फाइल हिजो अदालतमा पुगेको छ। सरकारी वकिलको कार्यालयले प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययन गरी अभियोग दाबीसहित जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
पूजाका माइती पक्षले उनलाई दाइजोका कारण यातना दिएर हत्या गरिएको दाबी गर्दै श्रीमान् भरत धामीसहित पाँच जनाविरुद्ध कर्तव्य ज्यानको किटानी जाहेरी दिएका थिए। जाहेरीपछि प्रहरीले श्रीमान् भरतसहित बाजे, बज्यै, फुपू र नन्दलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।
कञ्चनपुरको बेदकोट नगरपालिका–१, हात्तीथलाकी पूजा धनगढी उपमहानगरपालिका–४, न्युरोड टोलका ३१ वर्षीय भरत धामीसँग विवाह गरेकी थिइन्। साउन ११ गते उनी आफ्नै घरमा सिलिङ पंखामा साडीको पासो लगाएको अवस्थामा फेला परेकी थिइन्। उपचारका लागि नवजीवन अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि परिवारले आत्महत्या गरेको दाबी गरे पनि माइती पक्षले भने हत्या भएको आरोप लगाउँदै आएका छन्। तर, स्रोतका अनुसार हालसम्मको अनुसन्धानमा माइती पक्षले लगाएको हत्या आरोप पुष्टि गर्ने ठोस सबुत प्रमाण फेला परेको छैन। यस्तै पोस्टमार्टम रिपोर्टमा पनि चिकित्सकले कारण स्पष्ट खुलाएका छैनन्।
यद्यपि प्रहरीले अनुसन्धानलाई आधार बनाएर सो घटनाको न्यायिक प्रक्रिया भने जिल्ला अदालत कैलालीबाट कानुनी टुंगो लाग्नेछ।




प्रतिक्रिया दिनुहोस्