काठमाडौँ : नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा कार्यकारी निर्देशक दीर्घ बहादुर रावल नियुक्त हुनुभएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर विश्वनाथ पौडेलको सिफारिसमा रावललाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो।
लामो समयदेखि रिक्त रहेको उक्त पदमा नियुक्त हुनुभएका रावलसँग बैंकको विभिन्न विभागमा रहेर काम गरेको लामो अनुभव छ। एक वर्षअघि मात्र कार्यकारी निर्देशकमा बढुवा हुनुभएका उहाँले हालसम्म बैंक सुपरीवेक्षण विभागको नेतृत्व गर्दै आउनुभएको थियो। यसअघि उहाँले सन् २०१९ देखि २०२४ सम्म सम्पत्ति शुद्धीकरण र आतंकवादको वित्तीय व्यवस्थापनसम्बन्धी फाइनान्सियल इन्टेलिजेन्स युनिटको नेतृत्व गर्नुका साथै राष्ट्रिय समन्वय समितिको सदस्य सचिवको जिम्मेवारी समेत सम्हालिसक्नुभएको छ।
नेपाल बैंकको सहायक प्रबन्धकबाट बैंकिंग करिअर सुरु गर्नुभएका रावलले राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभाग र बैंक तथा वित्तीय संस्था नियमन विभागमा रहेर समेत काम गर्नुभएको थियो। काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा पीएचडी स्कलर रावलले अर्थशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर तथा व्यवस्थापनमा एमबीए गर्नुभएको छ। उहाँ २०१२ मा ‘सामना बैंकिङ पुरस्कार’ बाट सम्मानित हुनुभएको थियो।
राज्यका निकायमा सुदूरपश्चिमको बलियो उपस्थिति
अछाम मूल घर हुनुभएका रावलको यो नियुक्तिसँगै पछिल्लो समय राज्यका प्रमुख तथा नीतिगत निकायहरूमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने उच्च पदस्थ अधिकारीहरूको सूची अझै लम्बिएको छ।
वर्तमान सरकार आएसँगै राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा सुदूरपश्चिमकै प्रतिनिधि हुनुहुन्छ भने नेपाल धितोपत्र बोर्डको अध्यक्ष, गोरखापत्र संस्थानको महाप्रबन्धक जस्ता महत्त्वपूर्ण संस्थाको नेतृत्वमा पनि सुदूरपश्चिमकै व्यक्तिहरू पुग्नुभएको छ। यसैक्रममा केन्द्रीय बैंकको डेपुटी गभर्नरमा समेत सुदूरपश्चिमकै अधिकारी नियुक्त हुनुलाई यहाँका बौद्धिक तथा प्रशासनिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।




प्रतिक्रिया दिनुहोस्