धनगढी: सुदूरपश्चिम प्रदेशमा बजेट खर्च गर्ने र कार्यान्वयन गर्ने प्रणाली (पीएलएमबीआईएस – PLMBIS) सञ्चालनमा आएको छ। प्रणाली खुलेसँगै प्रदेश सरकारको बजेट कार्यान्वयनको बाटो पूर्ण रूपमा खुलेको छ।
बजेटसम्बन्धी विधेयक मङ्गलबार प्रदेश सभाबाट पारित भएपछि बुधबार प्रदेश प्रमुख नजिर मियाँले प्रमाणीकरण गर्नुभएको थियो। त्यसपछि बिहीबार आन्तरिक मामिला मन्त्रालयले उक्त विधेयकलाई राजपत्रमा प्रकाशित गरेको हो।
राजपत्रमा प्रकाशित भएसँगै प्रदेश लेखा नियन्त्रक कार्यालयको अनुरोधमा महालेखा नियन्त्रक कार्यालय र अर्थ मन्त्रालयको समन्वयमा बजेट प्रणाली सुचारु गरिएको हो। साथै, बजेट खर्चका लागि प्रयोग हुने ‘एकल खाता प्रणाली’ पनि सुरु भइसकेको छ।
प्रदेश लेखा नियन्त्रक वासुदेव जोशीका अनुसार, प्रणाली सुरु भएसँगै सरकारी कार्यालयहरूले भुक्तानीका लागि सिफारिस पठाउन थालेका छन् र कर्मचारीहरूको खातामा नयाँ तलबमान अनुसारको तलब पठाउने काम सुरु भइसकेको छ।
यसअघि नै प्रदेशको आर्थिक मामिला मन्त्रालयले बजेट कसरी खर्च गर्ने भन्नेबारे मार्गदर्शन (निर्देशिका) र कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरिसकेको थियो।




प्रतिक्रिया दिनुहोस्