शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सूचना नपाइएको डा. जोशीको गुनासो,उपकुलपति र रजिस्ट्रारलाई पत्र लेख्दा पनि सुनुवाइ भएन !

कैलाली : सुदूरपश्चिमको स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रको महत्त्वपूर्ण परियोजना मानिएको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सूचना माग गर्दा पनि उपलब्ध नभएको चिकित्सक डा. अमृत जैशीले गुनासो गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले विश्वविद्यालय प्रशासनको पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठाउनुभएको हो।

डा. जैशीका अनुसार, उहाँले २०८३ भदौ २२ गते विश्वविद्यालयमा सूचना अधिकारी नियुक्त नभएको अवस्थामा रजिस्ट्रारलाई सम्बोधन गर्दै सूचनाको हकसम्बन्धी निवेदन दर्ता गराउनुभएको थियो। निवेदनमा ३०० शय्याको शिक्षण अस्पताल सञ्चालनका लागि स्वीकृत योजना, कार्ययोजना, समयसीमा, हालसम्मको प्रगति र बाँकी कामको विवरण माग गरिएको थियो।

त्यसैगरी, अस्पतालको स्वीकृत दरबन्दी, कार्यरत तथा रिक्त पद र ओपीडी, इमर्जेन्सी, आईपीडी, अपरेसन तथा प्रयोगशालालगायतका सेवाको अवस्था; खरिद गरिएका प्रमुख स्वास्थ्य उपकरणको संख्या, मूल्य, वर्तमान अवस्था, प्रयोगमा नरहेका उपकरणको कारण तथा मर्मतसम्बन्धी विवरण पनि माग गरिएको थियो।

चिकित्सा शिक्षा सञ्चालनका सम्बन्धमा चिकित्सा शिक्षा आयोग वा सम्बन्धित निकायबाट भएका निरीक्षण, मूल्याङ्कन, स्वीकृति तथा निर्णयका प्रतिलिपि, आवश्यक अस्पताल, जनशक्ति र पूर्वाधारसम्बन्धी मापदण्ड पूरा भए वा नभएको विवरणका साथै सेती, महाकाली, टीकापुर र लम्कीचुहा अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्बन्धमा भएका स्वीकृति, निर्णय वा सम्झौताका प्रतिलिपिसमेत माग गरिएको डा. जैशीले बताउनुभएको छ।

निवेदन दर्ता गराएपछि पनि जवाफ नआएपछि उहाँले असोज १४ गते विश्वविद्यालयका उपकुलपतिलाई इमेलमार्फत पुनः पत्र पठाउँदै सूचना उपलब्ध गराइदिन अनुरोध गर्नुभएको थियो। तर, त्यसपछि पनि कुनै जानकारी प्राप्त नभएको उहाँको भनाइ छ।

डा. जैशीले भन्नुभएको छ, “सार्वजनिक संस्था जनताका धरोहर हुन्। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिमको स्वास्थ्य, शिक्षा, रोजगारी र समग्र विकाससँग जोडिएको महत्त्वपूर्ण सपना हो। भौतिक संरचना निर्माण भएको करिब पाँच वर्ष बितिसक्दा पनि शिक्षण अस्पताल पूर्ण रूपमा सञ्चालन हुन नसकेको अवस्थामा उपलब्ध सेवा, जनशक्ति र विस्तारको योजनाबारे सूचना माग्नु स्वाभाविक नागरिक चासो हो।”

सूचना माग्नुलाई विरोधका रूपमा लिन नहुने उल्लेख गर्दै उहाँले थप्नुभएको छ, “सूचनाको हक कसैको कृपा होइन, नागरिकको अधिकार हो। सूचना माग्नु विरोध होइन; सार्वजनिक निकायलाई पारदर्शी, जिम्मेवार र जवाफदेही बनाउने सकारात्मक नागरिक हस्तक्षेप हो। गेटा जनताको सपना हो, र त्यो सपनाको प्रगतिबारे प्रश्न गर्ने अधिकार पनि जनताकै हो।”

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल सञ्चालन, जनशक्ति व्यवस्थापन र चिकित्सा शिक्षा सञ्चालनको तयारीबारे सार्वजनिक चासो बढिरहेका बेला सहि सूचना उपलब्ध नभएको गुनासोले प्रशासनिक पारदर्शितामाथि प्रश्न उठाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार