धनगढीमा मंसिर २५ देखि चैतन्य पाठशालाको जिल्लास्तरीय फुटबल प्रतियोगिता, ३२ टिम सहभागी हुने !

धनगढी : कैलालीको धनगढीस्थित चैतन्य पाठशालाले ‘फुटबल फर स्कूल : रोड टु वर्ल्ड कप’ कार्यक्रमअन्तर्गत जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता आगामी मंसिर २५ गतेदेखि पुस ८ गतेसम्म धनगढी रंगशालामा सञ्चालन हुनेछ ।

चैतन्य पाठशालाले आज पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो । पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले बालबालिकामा फुटबलप्रतिको रुचि अभिवृद्धि गर्ने, प्रतिभावान् खेलाडीको पहिचान गर्ने तथा विद्यालयस्तरबाटै फुटबलको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

प्रतियोगिता सञ्चालनका लागि कैलाली जिल्ला फुटबल संघ र चैतन्य पाठशालाबीच १४ वर्षमुनिका छात्रछात्राको जिल्लास्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको छ । सम्झौतापत्रमा पाठशालाका तर्फबाट प्राचार्य प्रेमनिधि ओझा र संघका अध्यक्ष अनिल मल्लले हस्ताक्षर गरेका छन् ।

संघ र पाठशालाबीचको सहकार्यले जिल्लामा विद्यालयस्तरीय फुटबलको विकास गर्नुका साथै छात्रछात्राको खेल सहभागिता अभिवृद्धिमा थप टेवा पुग्ने विश्वास आयोजकले लिएको छ ।

प्रतियोगितामा छात्रतर्फ १६ र छात्रातर्फ १६ गरी कुल ३२ टिमको सहभागिता रहनेछ । आयोजकका अनुसार प्रत्येक टिममा अतिरिक्त खेलाडीसहित २० जना खेलाडी रहनेछन् । त्यस्तै, प्रशिक्षक, व्यवस्थापक र फिजियोथेरापिस्टसहित प्रत्येक टिममा २३ जना रहनेछन् ।

प्रतियोगितामा ३२ टिमका अफिसियलसहित ७३६ जनाको प्रत्यक्ष सहभागिता रहने आयोजकले जनाएको छ । अन्य प्राविधिक तथा व्यवस्थापन पक्षसमेत जोड्दा खेलाडी, अफिसियल र रेफ्री गरी ७५० जनाभन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख रुपैयाँ र द्वितीय हुने टिमले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । विजेता तथा उपविजेता टिमलाई ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जनाएको छ ।

विद्यालयस्तरबाटै फुटबल खेलको आधार बलियो बनाउँदै भविष्यका प्रतिभावान् खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार