कैलाली: दसैँ मनाउन भारतका विभिन्न सहरहरूबाट घर फर्किरहेका नेपालीहरू कैलालीको त्रिनगर–गौरीफन्टा नाकामा भारतीय कर्मचारीबाट ठगिने र सास्ती खेप्न बाध्य हुने क्रम अझै रोकिएको छैन। लामो र थकानपूर्ण यात्रा गरेर स्वदेश फर्किरहेका नेपालीहरूले सीमा पार गर्ने क्रममा सामान जाँचका नाममा अनावश्यक हैरानी र आर्थिक भार खेप्नुपरेको गुनासो गरेका छन्।
नाकामा खटिएका भारतीय भन्सार तथा सुरक्षा कर्मचारीहरूले सामानको प्रकृति र आकार हेरेर जबर्जस्ती रकम माग्ने गरेका छन्। भारतको बेङ्गलुरुबाट डोटी फर्किँदै गरेका प्रकाश विकका अनुसार, सीमामा खटिएका भारतीय कर्मचारीहरूले प्रतिव्यक्ति १०० देखि २०० भारतीय रुपैयाँसम्म माग्ने गरेका छन्। माग बमोजिम पैसा नदिए सीमा पार गर्न कठिन बनाइदिने भएकाले बाध्य भएर रकम बुझाउनुपर्ने अवस्था रहेको यात्रुहरूको भनाइ छ।
अर्का यात्रु कमल चौधरीले पनि नाकामा नेपालीहरूले दिनहुँ यस्तो सास्ती भोग्नुपरेको बताए। यो समस्याबारे सम्बन्धित नेपाली अधिकारीहरूलाई पटक-पटक जानकारी गराउँदा पनि समाधानका लागि कुनै ठोस पहल नभएको उनीहरूको आरोप छ।
दसैँ नजिकिएसँगै गौरीफन्टा नाकाबाट दैनिक हजारौँको सङ्ख्यामा नेपालीहरू स्वदेश फर्किरहेका छन्। तर, आफ्नै देशको ढोकामा आइपुग्दा यसरी दिनदहाडै रकम असुलिनु र झन्झट थपिनुले चाडपर्वको खुसी बोकेर फर्किएका नेपालीहरू थप मर्कामा परेका छन्।




प्रतिक्रिया दिनुहोस्