सरकारले बाँदरलाई कृषिबालीका लागि हानिकारक वन्यजन्तु घोषणा गर्ने तयारी गर्दै

धनगढी : मुलुकभरी बाँदरले कृषिबालीमा क्षति गर्न थालेपछि सरकारले बाँदरलाई कृषिबालीका लागि हानिकारक वन्यजन्तु घोषणा गर्ने तयारी गरेको छ । कृषि हानिकारक वन्यजन्तु घोषणा गरेपछि किसानले खेतबारीबाट बाँदरलाई धपाउन, लखेट्न, पक्रन र मार्न पनि सक्ने अवस्था सिर्जना हुनेछ । हालको अवस्थामा कुनै पनि वन्यजन्तुलाई लखेट्न, धपाउन, पक्रन र मार्न कानून विपरित मानिन्छ ।

सरकारले यसअघि बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको थियो र बदेलको समस्या केही हदसम्म कम भएको बुझाई वन तथा वातावरण मन्त्रालयको छ । वन तथा वातारण मन्त्री ऐनबहादुर शाही ठकुरीले बाँदरले मुलुकभरी नै दुख दिने गरेकोले यसलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेर भएपनि समस्या न्यूनीकरण गर्न थालिएको बताउनुभयो । उहाँले बाँदर लगायतका अन्य १६ प्रजातिका वन्यजन्तुले मानव तथा कृषिलाई हानी नोक्सानी पुर्‍याउने गरेको जानकारी दिनुभयो ।

बाघ, हात्ती, गैँडा, निलगाई, चितुवा र बाँदर सहित बिभिन्न १६ वटा प्रजातिका वन्यजन्तुले मानवीय तथा भौतिक क्षति पु¥याउने गरेकोले तत्कालै बाँदरको समस्या व्यवस्थापन गर्न अध्ययन कार्यदल गठन गरिने पनि वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

यसअघि संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बाँदरको समस्या समाधानका लागि अल्पकालिन, दीर्घकालिन उपायको अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको थियो ।

मन्त्री शाहीले बाँदरलाई मेडिकलको प्रयोजनका लागि अध्ययन, अनुसन्धानमा पनि प्रयोग गर्न सकिने र बिभिन्न मुलुकमा निर्यात गर्ने विषयमा पनि विज्ञहरुसँग छलफल गरिने बताउनुभयो । बाँदरको समस्या सबैभन्दा बढी गुल्मी, डडेल्धुरा, सल्यान, अर्घाखाँची, दैलेख, पर्सा, धनुषा, बारा लगायतका जिल्लामा रहेको बताइएको छ ।

यसअघि बाँदर नियन्त्रणका विषयमा तालिम लिन भारत गएका वन र भेटेनरीका प्राविधिकको प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश भइसकेको छ। सो प्रतिवेदन अनुसार नेपालमा पनि बाँदर नियन्त्रणका लागि काम गर्न सकिने काम गर्न तर्फ मन्त्रालय लाग्ने मन्त्री ठकुरीले बताउनुभयो ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य सांसद बीरबहादुर बलाएरले बाँदर नियन्त्रण गर्न भारत पठाईएका कृषि तथा वन प्राविधिकहरुलाई परिचालन गरेर भएपनि तत्काल बाँदर नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।

त्यसैगरी गाउँपालिका महासङ्घका लेखनाथ पोखरेलले मध्यपहाडी क्षेत्रका सबैजसो जिल्लामा बाँदर आतङ्क फैलिएको र चौबिसै घण्टा खेतबारीमा लठ्ठी समातेर बस्नु पर्ने अवस्था आएको बताउनुभयो । उहाँले तत्काल बाँदरलाई समस्याग्रस्त वन्यजन्तु घोषणा गरी बाँदरलाई लखेट्न, धपाउन र किसानले बालीनाली बचाउनका लागि बाँदरलाई मार्न समेत पाउनु पर्ने माग राख्नुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा। सिन्धुप्रसाद ढुङ्गानाले बाँदरले किसानलाई निकै दुख दिन थालेकोले यसको सङ्ख्या व्यवस्थापन गर्न तर्फ काम गर्नुपर्ने बताउनुभयो । उहाँले विद्यमान कानूनमा विदेशमा उपहार दिन सकिने, कृषि हानिकारण वन्यजन्तु घोषणा गर्न सकिने लगायतका विषयमा छलफल सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न खालका वन्यजन्तुले क्षति पु¥याउँदा तत्काल पीडित परिवारलाई राहत दिने गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार