कांग्रेसमा उत्साहित गगन: एक्लिँदै शेरबहादुर, तटस्थ शेखर

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद तीव्र बन्दै जाँदा नेताहरू तीन धारमा विभाजित भएका छन्। विशेष महाधिवेशनबाट कांग्रेस नेतृत्वमा पुगेका गगनकुमार थापासहितको संस्थापन पक्ष १५औं महाधिवेशनमा जुटेसँगै पार्टीमा तीन धार देखिएको हो। थापा नेतृत्वको संस्थापन पक्षले १५औं महाधिवेशनअन्र्तगत यही असोज ३ गतेबाट वडा अधिवेशन सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

महाधिवेशन सुरु हुन दुई दिन मात्र बाँकी रहँदा निवर्तमान सभापति शेरबहादुर देउवा निकट अधिकांश नेता संस्थापन पक्षमा फर्केका छन्।

केन्द्रीय समितिको बिहीबार सानेपामा बसेको बैठकमा विगतमा देउवा निकट रहेका तीन दर्जन बढी नेता सहभागी भएका छन्। यसबाट सभापति थापासहित संस्थापन पक्षमा उत्साह थपिएको छ भने जीवनको उत्तरार्धमा पुगेका देउवा एकपछि अर्को गर्दै एक्लिन पुगेका छन्।

देउवा पक्षबाट निवर्तमान कार्यवाहक सभापति भएका पूर्णबहादुर खड्का निकट धेरै नेता पनि सानेपा बैठकमा सहभागी भएका छन्। सभापति थापासँगका चरणबद्ध बैठकपछि खड्का निकट नेताहरू सानेपा फर्कन राजी भएका हुन् तर खड्का भने सर्वोच्च अदालतमा पार्टी आधिकारिकता विवादको मुद्दा टुंगो नलागेसम्म सानेपा बैठकमा सहभागी नहुने निकट नेता रामहरि खतिवडाले जानकारी दिए।

चारतारे झन्डा र रुख भएको ठाउँमा नै नेता खड्का हुने बताउँदै खतिवडाले भने, ‘आधिकारिकता विवादमा उहाँले नै हालेको मुद्दा अदालतमा विचाराधीन रहेका बेला कतै खुल्नु नैतिक हुँदैन।’

तर खड्का स्वयंले भने १५औं महाधिवेशन केही समय स्थगित गरी निर्णायक वार्ता र संवाद गर्न सभापति थापालाई आग्रह गरेका छन्। सानेपामा बैठक चलिरहेका बेला खड्काले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी एकताका लागि पहल लिन थापालाई आग्रह गरेका हुन्। ‘असोज ३ गतेदेखि प्रारम्भ हुनेगरी घोषणा गरिएको १५औं महाधिवेशनको कार्यतालिका स्थगन गरी केही समयका लागि सार्नुस्,’ उनले लेखेका छन्, ‘तपाईंले आज गर्नुभएको निर्णयको जगमा पार्टीको १४औं महाधिवेशनबाट निर्वाचित सभापति शीर्ष नेता शेरबहादुर देउवाज्यू अनि अग्रज नेताहरूसँग आफ्नै अग्रसरतामा वार्ता र संवाद तत्काल प्रारम्भ गर्नुस्। मलाई आत्मविश्वास छ। पार्टीको सम्पूर्ण एकता अझै सम्भव छ।’

अन्यथा पार्टीको दुई महाधिवेशन हुने र विभाजन हुने उनले जनाएका छन्। खड्काले त कांग्रेस मात्र होइन, केही महिनाभित्र नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीलगायत विशेषगरी संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका रहेका दलहरू विभाजन हुने उल्लेख गरेका छन्।

खड्का सभापति देउवाका विश्वासपात्रमध्ये एक हुन्। फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनको मुखमा बिदेसिएका देउवा साउनको अन्तिम साता मात्र स्वदेश फर्केका थिए।

देउवा स्वदेश फर्केसँगै पार्टीका संस्थापकमध्यका एक बिपी कोइरालाका कान्छा छोरासमेत रहेका पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा कांग्रेस इतर पक्षले समानान्तर महाधिवेशन गर्ने तयारी गरेको छ। त्यससँगै नेता खड्काले देउवासहितका नेतासँग मन दुखाएको निकटको दाबी छ। देउवासँग केही पाका नेताहरू मात्र बाँकी रहे पनि उनीहरूले मंसिरमा १५औं महाधिवेशन गर्ने बताएका छन्। सोहीअनुसार देउवा पक्षले जिल्लामा प्रतिनिधि खटाएको छ।

१४औं महाधिवेशनमा देउवासँग मुख्य प्रतिस्पर्धा गरेका नेता डा. शेखर कोइरालाले संस्थापन र इतर दुवै पक्षमा नलाग्ने घोषणा गरेका छन्। उनले आफूनिकट नेताहरूलाई पनि दुवै पक्षका महाधिवेशनमा सहभागी नहुन आह्वान गरेका छन्।

संस्थापन र इतर दुवै पक्षको महाधिवेशनपछि शेखर एकता अभियान चलाउने रणनीतिमा छन्। शेखर निकट नेता बद्री पाण्डेले पार्टी एकताको विकल्प नभए पनि त्यसका लागि अहिले इमानदार प्रयास नभएको गुनासो गरे। दुवै पक्ष महाधिवेशन तयारीमा रहेका बेला पाण्डेले भने, ‘यसले कांग्रेसलाई अझ कमजोर बनाउँछ। हामी पार्टीभित्र बृहत् एकताका पक्षमा छौं।’

संस्थापन पक्षले एकताका लागि मनैदेखि प्रयास नगरेको शेखर पक्षको बुझाइ छ। नेता खड्काले त सभापति थापाले निर्णय लिन ढिलाइ गरेको गुनासो गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तपाईं आज जुन निर्णयमा पुग्नुभयो त्यो निर्णय वैशाख २१ का हामीबिच भएको संवादपछि त्यही महिनामा निर्णय गर्नु भएको भए जेठको पहिलो साताभित्र सिंगो कांग्रेस तपाईंको नेतृत्वमा सानेपा पार्टी केन्दीय कार्यालयमा सम्पूर्ण रूपमा एकताबद्ध भएर जुरुक्क उभिन्थ्यो।’

शेखरले आफू पार्टी विभाजनबाट रोमाञ्चित हुनै नसक्ने बताएका छन्। शेखरले बिहीबार विज्ञप्तिमार्फत भनेका छन्, ‘मैले मेरा परिवेश, पृष्ठभूमि र प्रशिक्षणबाट सिकेका न्यूनतम मान्यताबाट कांग्रेस विचलित हुँदा स्वाभाविक छ। मेरो मन पनि उद्वेलित हुन जान्छ। म कांग्रेस विभाजनबाट रोमाञ्चित हुनै सक्दिनँ। पार्टीमा को ठिक, को बेठिक भनेर वकालत गर्न सक्दिनँ। कांग्रेस हुँ भन्ने तर आफ्नै साथीभाइमाथि असुरक्षा, अपमान र घृणा पैदा गरेर निर्माण गरिने कांग्रेसको महलमाथि म बस्न सक्दिनँ।’

कांग्रेसमा कोही हार्ने र कोही जित्ने अनि विजयी कांग्रेस हुँ भनेर कसरी उत्सव मनाउन सकिन्छ भन्ने प्रश्न गर्दै उनले भनेका छन्, ‘आफू गाउँटोलदेखि केन्द्र हुँदै विदेशसम्म बस्ने साथीहरूलाई पार्टी एकताबद्ध राख्न दृढ संकल्पका साथ लाग्ने छु।’

१४औं महाधिवेशनपछि गठित कार्यसमितिका अधिकांश सदस्य सानेपा बैठकमा सहभागी भएपछि थप उत्साहित भएका सभापति थापाले पार्टीभित्र बृहत्तर एकताका लागि आफूले पहल गरिराखेको बताएका छन्।

केन्द्रीय समिति बैठकमा थापाले एकताबद्ध भएर १५औं महाधिवेशनमा जानुपर्नेान जोड दिँदै निवर्तमान सभापति देउवासहित पूर्वपदाधिकारीहरूलाई अधिवेशनमा सहभागी हुन अपिल गरेका छन्।

निवर्तमान कार्यवाहक सभापति खड्का र नेता शेखरसहितले राखेका अधिकांश माग पार्टीले पूरा गरिसकेको पनि उनले बताए। ‘कतिपय साथीले निवर्तमान सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गर्नुपर्छ भन्नुभएको छ। यो हाम्रा लागि सम्मानको विषय पनि हो,’ थापाले बैठकमा भने, ‘मेरो पनि अनुरोध छ, उद्घाटनमा आउनुहोस्।’

अब महाधिवेशन मिति सार्न नसकिने बताएका थापाले असोज ३ गतेबाट वडा अधिवेशन सुरु हुने र १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन हुनेमा अन्यथा नसोच्न आग्रह गरे। देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म १५ औं महाधिवेशन गर्ने मिति तय गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार