नाम ‘राष्ट्रिय’, काम लथालिङ्ग: डेढ घण्टा अतिथि पर्खाएर मर्यादाक्रमको धज्जी

धनगढी :- ‘टी-१० नेशनल क्रिकेट च्याम्पियनसिप’ को आकर्षक ब्यानर र क्यानको लोगो टाँसिएको मञ्च अगाडि बिहान ८:४५ बजे नै प्रमुख तथा विशिष्ट अतिथिहरू पुगिसकेका थिए। आयोजक कैलाली जिल्ला क्रिकेट संघले निमन्त्रणा कार्डमा कार्यक्रमको समय तोकेको थियो- बिहान ठीक ९ बजे।
तर, अतिथिहरू डेढ घण्टाभन्दा बढी समय कुर्सी र मञ्च हेरेरै टोलाउन बाध्य भए। कार्यक्रम ९ बजे होइन, १०:२० बजे मात्रै ढिलागरी सुरु भयो।
धनगढीमा आइतबारदेखि सुरु भएको राष्ट्रिय स्तरको भनिएको प्रतियोगिताको उद्घाटन सत्रमै आयोजकको चरम लाचारी र अव्यवस्था छताछुल्ल भएको छ।
घण्टौँको पर्खाइपछि कार्यक्रम सुरु हुँदा आयोजक टोलीले ‘प्राविधिक समस्या’ भनेपनी उपस्थित अतिथि र दर्शकले भने यसलाई आयोजकको अक्षमता र गैरजिम्मेवारपनका रूपमा लिएका छन्। “राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्छौँ भन्ने अनि समयको न्यूनतम ख्यालसमेत नगर्ने? यो आयोजकको गैर जिम्मेवारपन होइन ?” कार्यक्रममा सहभागी एक अतिथिले आक्रोस पोखे।


मर्यादाक्रमको धज्जी
आयोजकको भद्रगोल समय व्यवस्थापनमा मात्रै सीमित रहेन, मञ्चको आसन ग्रहणमा समेत मर्यादाक्रम (प्रोटोकल) को धज्जी उडाइयो।
जुन क्षेत्रमा खेल आयोजना भइरहेको छ, सोही धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरलाई आयोजकले सबैभन्दा पछाडि पार्यो। मञ्चमा प्रायः सबै प्रमुख अतिथि, विशिष्ट अतिथि र अन्य अतिथिहरूको आसन ग्रहण सम्पन्न भइसकेपछि मात्रै स्थानीय वडा अध्यक्ष ऐरलाई आसन ग्रहणका लागि बोलाइएको थियो।
खेल हुने आफ्नै वडाका जनप्रतिनिधि तथा कार्यक्रमका स्थानीय अभिभावकलाई नै उपेक्षा गरेर आयोजकले मर्यादाक्रमसम्बन्धी न्यूनतम ज्ञान र परिपक्वतासमेत देखाउन नसकेको भन्दै आयोजकको आलोचना भइरहेको छ।


साख जोगाउनै धौ-धौ
नेपाल क्रिकेट संघ (क्यान) को प्रत्यक्ष समन्वय र जिल्ला क्रिकेट संघ कैलालीको आयोजनामा भएको भनिएको यस प्रतियोगितामा देखिएको फितलो व्यवस्थापनले समग्र सुदूरपश्चिमको खेलकुद साखमाथि नै प्रश्न उठाएको छ।
‘क्रिकेटको सहर’ भनेर चिनिने धनगढीमा राष्ट्रिय ब्यानरमा आयोजना गरिएका प्रतियोगितामा यस्तो खाले लथालिङ्ग अवस्था देखिनुले स्थानीय खेलप्रेमी र सरोकारवालाहरू आक्रोशित बनेका छन्। प्रतियोगिता आयोजना गर्नुअघि गर्नुपर्ने सामान्य पूर्वतयारी र समन्वयसमेत नगरी कर्मकाण्डी शैलीमा कार्यक्रम गर्दा प्रतियोगिताको गरिमा नै घट्न पुगेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार