शैक्षिक स्तर सुधारका लागि मेयर हमालको बाचा– ‘१७ विद्यालयमा १० लाख बढीको सामाग्री उपलब्ध गराउँछु’

धनगढी । धनगढी उपमहानगरपालिकाले शैक्षिक स्तर सुधारका लागि विद्यालयहरुलाई १० लाख मूल्य बराबरको सामाग्री दिने भएको छ । उपमहानगरपालिकाले आधारभूत तहको कक्षा ८ को परीक्षामा शून्य नतिजा ल्याउने सामुदायिक विद्यालयहरुलाई शैक्षिक सत्र २०८० मा १० लाख मूल्य बराबरको शैक्षिक सामाग्री दिने भएको हो ।

शुक्रवार सामुदायिक विद्यालयका प्रध्यानाध्यापक र व्यवस्थापन समितिसँग गरिएको अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख गोपाल हमालले यस्तो बताएका हुन् ।

Dengue

‘यसपालीको आधारभूत तहको कक्षा ८ को परीक्षाको नतिजा साह्रै लज्जास्पद आयो । यो हामी सबैका लागि दुःखको विषय हो’, उनले भने, ‘अब कसरी हुन्छ ? विद्यालयमा शिक्षाको गुणस्तर सुधार गर्नतर्फ केन्द्रित हुनुपर्छ । यसै अन्तर्गत चालु शैक्षिक सत्रमा सेवा मैले पाउने सुविधाको रकमबाट विद्यालयहरूका लागि शैक्षिक सामग्री खरिद गरेर उपलब्ध गराउनेछु ।’ मेयर हमालले आफ्नो एक वर्षको सेवासुविधाको रकम अपुग भए व्यक्तिगततर्फबाट पनि रकम थपेर १७ वटै विद्यालयहरूलाई १० लाख मूल्यका शैक्षिक सामग्री उपलब्ध गराउने प्रतिवद्धता गरेका छन् ।

छलफलका क्रममा विद्यालयका प्रअहरुले शैक्षिक सामग्रीको अभावले पठनपाठनमा समस्या भएको गुनासो गरेपछि नगरप्रमुख हमालले कापी–किताब, कलम, मसी लगायतका सामाग्री वितरण गर्ने बताएका हुन् । ‘सामुदायिक विद्यालयहरुमा विद्यार्थी टिकाउने र उत्कृष्ट नतिजा ल्याउनका लागि सबै पक्षको योगदान चाहिन्छ’, उनले थपे, ‘शैक्षिक सामग्रीको अभावकै कारण पठनपाठन बिग्रिने अवस्था आउन नदिन जस्तोसुकै कदम चाल्न तयार छौँ ।’

त्यस्तै, आगामी शैक्षिक सत्रमा राम्रो नतिजा ल्याउन र सामुदायिक विद्यालयहरूको सिकाइ उपलब्धि राम्रो बनाउन उपमहानगरले आगामी आर्थिक वर्षमा ठोस योजना र कार्यक्रम ल्याउने भएको छ । शिक्षा क्षेत्रमा राम्रो नतिजा हासिल गर्न परामर्शदाताको सहयोग लिने र शिक्षाका लागि बहुपक्षीय साझेदारी गर्ने योजना रहेको नगरप्रमुख हमालको भनाई छ । ‘सामुदायिक विद्यालयको नतिजा राम्रो बनाउन उपमहानगरले काम गर्छ । यो वर्षबाट विद्यालयको अवस्था सुधार गर्न सबैले लाग्नुपर्छ’, उनले भने, ‘उपमहानगरको समग्र शैक्षिक अवस्था सुधारका लागि हामीले विज्ञको सहयोग लिएर काम गर्ने योजना बनाएका छौँ ।’

कार्यक्रममा उपप्रमुख कन्दकलाकुमारी रानाले विद्यालयहरूको गुणस्तर वृद्धि गर्न अनुगमन र सहयोग सँगसँगै अगाडि बढाउने बताइन् । उनले विद्यालयको अनुगमन गर्न आफैं खटिने र धनगढीका सामुदायिक विद्यालयको अवस्था सुधार गर्न उपमहानगरले काम गर्नेसमेत प्रतिवद्धता गरेकी छिन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार