काठमाडौं : मोन्टी देसाईलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकबाट हटाउने तयारी भएकाे छ। पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टोलीले राम्रो प्रदर्शन गर्न नसकेको भन्दै देसाईको सम्झौता नवीकरण नगर्ने नेपाल क्रिकेट संघ (क्यान)ले तयारी गरेकाे हाे ।
भारतीय नागरिक रहेका मोन्टीको सम्झौता नवीकरण नगर्नेबारे क्यानले आगामी बोर्ड बैठकबाट अन्तिम निर्णय गर्ने जनाएको छ ।
क्यानका सचिव पारस खड्काले पदाधिकारीलाई अनौपचारिक छलफलमै प्रशिक्षक मोन्टीको सम्झौता नवीकरण नहुने बताइसकेका छन् । यस विषयमा सचिव खड्काले प्रशिक्षकसँग पनि सल्लाह भएको जानकारी पदाधिकारीलाई दिएका थिए ।
मोन्टी ०७९ माघदेखि नेपाली टिमको मुख्य प्रशिक्षक थिए । यसअघि मोन्टीले सन् २०१७ मा नेपालको यू–१९ टिमको ब्याटिङ सल्लाहकारका रूपमा काम गरेका थिए । मोन्टीको आगमनसँगै नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ को अन्तिम १२ मध्ये ११ खेल जित्दै चार वर्षका लागि एकदिवसीय मान्यता जोगाएको थियो ।
गत असारमा नेपालले दोस्रोपटक आइसिसी टी–२० विश्वकप खेलेसँगै मोन्टीलाई हटाउने चर्चा चलेको थियो । विश्वकपमा नेपालले दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्ससँग खेल्दा मात्र १ अंक जोड्यो । त्यसपछि नै मोन्टीलाई निरन्तरता दिन नहुने छलफल चलेको थियो । तर, लिग २ को मिति नजिकै भएकाले त्यससम्मलाई सम्झौता थप गरिएको बताइएको छ। देसाईलाइ हटाएर क्यानले नयाँ प्रशिक्षक नियुक्त गर्नेछ।
प्रतिक्रिया दनुहोस्