धनगढी : नेपाल प्रहरीको सुदूरपश्चिमस्थित प्रदेश कार्यालयका प्रहरी प्रमुख डीआईजी गणेश चन्दले हालको गृहजिल्लासमेत रहेको कञ्चनपुरबाट निरीक्षण सुरु गरेका छन्। चन्द हालै सरुवा भएर आएकोमा कञ्चनपुरबाट निरीक्षण सुरु गरेका हुन्।
यस अगाडिका डीआईजी रविन्द्र केसीको सरुवापछि चन्द आएका थिए। उनै चन्दले हिजो ४ गते नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर, कञ्चनपुरको स्थलगत निरीक्षण गरे।
सो क्रममा उनले गणको कार्यालय भवन, बिभिन्न शाखाहरु, ब्यारेक, मेस समेतको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएका थिए।
यस्तै निरीक्षणको क्रममा उनले प्रहरी कर्मचारीहरुले आचरण ब्यवहारमा सुधार गर्न, गलत प्रवृति भएका मानिसहरुसंग अनुचित सम्बन्ध नबनाउन, ब्यक्तिगत फाईदाको लागि आफ्नो अधिकारको दुरुपयोग नगर्न, प्रहरी आचरण विपरितका कार्य नगर्न, आर्थिक प्रलोभनमा नपर्न, गोपनियता कायम राख्न, सामाजिक सञ्जालको दुरुपयोग नगर्न, कार्यसम्पादनको क्रममा बल प्रयोग गर्दा मानव अधिकारको सम्मान र संरक्षण गर्दै व्यवसायिक, अनुशासित एवं कर्तव्यनिष्ठ भई कार्य सम्पादन गर्न निर्देशन दिनुहुदै प्रहरी कर्मचारीहरुका पिरमर्का तथा गुनासाहरु संगठनले तोके बमोजिमको विधि र प्रक्रिया अनुरुप सम्बोधन गरिने कुरा समेत बताए।
उक्त कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक दिलिप सिंह देउवा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय अत्तरिया कैलालीका प्रमुख प्रहरी उपरीक्षक राजिव बहादुर बस्नेत, नेपाल प्रहरी बिशेष सुरक्षा गण महेन्द्रनगरका गण प्रमुख प्रहरी उपरीक्षक खडक बहादुर खत्री लगायत नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरु समेतको उपस्थिती रहेको थियो।
प्रतिक्रिया दिनुहोस्