खोटाङ : साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको छ ।
फेदीको हात्तीढुङ्गे जङ्गलमा सिकार खेल्न सँगै गएका स्थानीय २५ वर्षीय चेतन राईले प्रहार गरेको भरुवा बन्दुकको गोली लागेर जगतप्रसादको मृत्यु भएको हो ।
चेतनले बुधबार राति मृग भनेर हानेको गोली लागेर जगतप्रसादको घटनास्थलमै मृत्यु भएको स्वीकारेको फेदीका स्थानीयवासी एवं स्थानीय नेता लक्ष्मण साम्पाङले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सञ्जु कार्कीले घटनास्थलबाट एउटा खाली र अर्को गोली भरिएको भरुवा बन्दुक बरामद गरिएको बताए । उनले चेतनले प्रहरीसमक्ष आफूबाट गल्ती भएको स्वीकारेको बताए ।
बिहीबार घटनास्थलको सर्जमिन मुचुल्का गरेर मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्