काठमाडौँ : सुदूरपश्चिम विश्वविद्यालयले एक कार्यक्रम गर्दै आफ्नो १५ औँ स्थापना दिवस मनाएको छ ।
कार्यक्रमको अध्यक्ष गर्दै सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तले विश्वविद्यालयको वर्तमान अवस्थाका साथै आगामी चार वर्षका लागि आफ्नो योजना दृष्टिकोणका बारे आफ्नो प्रस्तुति दिनुभएको थियो । विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक यज्ञराज पाठकले विश्वविद्यालयको पारदर्शिता र गुणस्तरीय शिक्षामा केन्द्रित हुन विश्वविद्यालयको नेतृत्वलाई सुझाव दिनुभयो ।
आफ्नो समापन मन्तव्यमा उपकुलपति प्राडा पन्तले विश्वविद्यालयलाई सामाजिक र प्राज्ञिक क्षेत्रसँग जोड्न प्रतिबद्ध रहेको जानकारी गराउनुभयो । उहाँले पर्याप्त बजेट विनियोजन गरी अनुसन्धान कार्यमा अभिवृद्धि गर्ने जानकारी गराएका थिए । कार्यक्रममा विश्वविद्यालयका ३० भन्दा बढी प्राध्यापक र कर्मचारीहरूलाई उनीहरूको २५ वर्ष अटुट सेवाको कदरस्वरूप दीर्घसेवा सम्मानपत्र प्रदान गरिएको थियो साथै समाजसेवी डिल्लीराज लेखक र लीलाध्वज बस्नेतलाई पनि उहाँहरूले विश्वविद्यालय स्थापनाका लागि पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।
कार्यक्रममा विभिन्न राजनीति दलका केन्द्रीय र प्रदेश स्तरका नेताहरूले विश्वविद्यालयमा राजनैतिक हस्तक्षेप नगर्ने र विश्वविद्यालयका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्