निमोनिया भनेको फोक्सोमा आउने एक प्रकारको संक्रमण हो। जसमा फोक्सोका कोषहरू सङ्क्रमित भएर श्वासप्रश्वासमा समस्या हुन्छ। यो मौसममा बढी पानी पर्ने भएकोले भिज्दा बालबालिकामा चिसो लाग्नसक्छ। रुघाखोकी धेरै लाग्छ। कतिपयलाई सामान्य रुघाखोकी लागेर आफै निको हुने गरेको छ। हाम्रो समाजमा ज्वरो आयो भने निमोनिया हुन्छ भन्ने मान्यता छ।
के कारणले हुन्छ निमोनिया ?
धूम्रपान र मादक पदार्थ सेवन गर्ने मानिसको फोक्सोमा समस्या हुन्छ। जसको कारण निमोनिया गराउने कारक तत्त्वका रूपमा धूम्रपानलाई लिन सकिन्छ।
निमोनिया एकबाट अर्कोमा सर्छ ?
निमोनियाको पनि प्रकार हुन्छ। जसमा भाइरल र ब्याक्टेरियल निमोनिया भएको छ भने सङ्क्रमित व्यक्तिको कफ, मुखबाट निस्किने तरलबाट अर्को स्वास्थ्य व्यक्तिमा सर्न सक्छ। तर अर्को फङ्गल निमोनिया भएको छ भने सर्दैन।
निमोनिया नै भएको भनेर कसरी थाहा पाउने ?
जन्मेको एक महिनासम्म बच्चाले दूध चुस्न सकेन, आलस्य भयो वा सुतेको ठाउँबाट उठ्न सकेन भने त्यो निमोनिया हो। अर्को, पाँच वर्षसम्मको बच्चामा रुघाखोकी लागेर बच्चा खेली रहेको छ भने त्यो सामान्य हो। बच्चा खाना नै नखाने नखेल्ने सय डिग्री भन्दा धेरै ज्वरो आयो भने कडा निमोनिया हो भनेर बुझ्नु पर्दछ। बच्चामा धेरै ज्वरो देखियो र सास फेर्न गाह्रो भएको छ भने निमोनिया भएको बुझ्न सकिन्छ।
निमोनियाको खोप कति समयमा लगाउने ?
अहिले मानिस खोप–खोप भनेर धेरै पछि लागेका छन्। शरीरको रोगसँग लड्ने एन्टिबडी दिने खोप छ। नेपाल सरकारले अहिले धेरै खोपहरू निःशुल्क दिएको छ। हेपाटाइटिस, लहरे खोकी, भ्यागुते रोग लागेमा धेरै समयको अन्तरमा धेरै खोपहरू ल्याएको छ। भ्याक्सिनले धेरै रोगबाट मुक्त गरेको छ। जुनजुन समयमा लगाउनु भनेर सरकारले खोप दिएको छ त्यो समयमा बालबालिकामा खोप लगाउनु आवश्यक छ।
निमोनियाबाट बच्न के गर्ने त ?
निमोनियाबाट बच्न बालबालिकालाई अरु बेलाको तुलनामा धेरै पटक दूध चुसाउने गर्नुपर्छ। निमोनियाबाट सङ्क्रमित व्यक्ति वा बच्चालाई फोहोर र धूलो वातावरणमा खेल्न दिनु हुँदैन। बच्चा जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउने गर्नुपर्छ। त्यसपछि भने दूधसँगै झोलिलो खानेकुराको साथै पोषिलो खानेकुरा जस्तैः माछा मासु, अण्डा, गेडागुडी, फलफूल, जाउलाजस्ता झोलिलो खानेकुरा खुवाउने गर्नुपर्छ। समयमा सरकारले दिएको भ्याक्सिनहरू लगाउने, कुपोषण हुनबाट जोगाउने, गर्नुपर्दछ।
प्रतिक्रिया दिनुहोस्