काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरु भीम रावल र घनश्याम भूसालले टिकट नपाउनु स्वभाविक भएको बताएका छन् ।
ललितपुरमा आयोजित पार्टीको कार्यक्रममा रावल र भूसालको नाम नलिई पार्टीभित्र पर्याप्त अवसर पाएको र पार्टीको पक्षमा एक शब्द नबोलेकाले टिकट नदिएको बताए । ओलीले २०४८ सालदेखि पद, ओहोदा र सुविधा भोग गरिरहेकाहरुले अरुलाई पनि पालो दिनुपर्ने भएकाले टिकट नपाउनु स्वभाविक भएको दावी गरे ।
‘असोज ३ गतेसम्म सांसद रहिरहेका मान्छेले, २०४८ सालदेखि सांसद भएका छन, भएका छन । पद, सुविधा, ओहोदा, उपप्रधानमन्त्री तीनैले खाएका छन्, गृहमन्त्री, रक्षामन्त्री, भौतिकमन्त्री, सञ्चारमन्त्री, पर्यटनमन्त्री, युवामन्त्री, खेलकुदमन्त्री, महिला, बालबालिकामन्त्री । नखाएको कुनै मन्त्रालय छैन । यसपल्ट अस्ती असोज २ गते बल्ल मुख खाली भएको छ । उसलाई किन बनाइएन भनेर रुवाबासी छ । अनि एकै जना मान्छेले मात्रै पाइरहनुपर्ने छ र ?’ उनले भने ।
पार्टीको हितमा एक शब्द नबोलेको र तमासा देखाइरहेको भन्दै ओलीले यस्ता कुराको पछि नलाग्न कार्यकर्ताहरलाइ आग्रह गरे । अवसर नपाउने धेरै नेता कार्यकर्ताले पार्टीको पक्षमा काम गरिरहेको तर दुई जनाका लागि फलानोले किन पाएन भनेर प्रश्न उठाइएको भन्दै उनले असन्तुष्टी जनाए ।
प्रतिक्रिया दिनुहोस्