काठमाडौं । नेपाल राष्ट्र बैंकको धनगढी कार्यालयले कञ्चनपुरमा सञ्चालित राष्ट्रिय मनिचेन्जर प्रा.लि. को इजाजतपत्र खारेज गर्ने प्रक्रिया अघि बढाएको छ । बैंकले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै उक्त मनिचेन्जरको कारोबार बन्द गरी इजाजतपत्र खारेज गर्न लागिएको जानकारी दिएको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–४, महेन्द्रनगरमा कार्यालय रहेको यस मनिचेन्जरले ‘नेपाल राष्ट्र बैंक, मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण नियमावली, २०७७ (चौथो संशोधनसहित)’ को विनियम २२ बमोजिम आफ्नो कारोबार बन्द गर्न निवेदन दिएको थियो । सोही निवेदनका आधारमा बैंकले इजाजतपत्र खारेजीको प्रक्रिया सुरु गरेको जारी सूचनामा उल्लेख छ ।
राष्ट्र बैंकले उक्त मनिचेन्जरसँग कुनै पनि किसिमको लेनदेन वा अन्य सरोकार बाँकी रहेका व्यक्ति वा संस्थाहरूलाई यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र धनगढी कार्यालयमा जानकारी गराउन आह्वान गरेको छ । तोकिएको समयभित्र कुनै दाबी वा जानकारी प्राप्त नभएमा नियमावलीअनुसार इजाजतपत्र खारेजीको अन्तिम प्रक्रिया पूरा गरिने बैंकले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्