धनगढी – एक समय थियो-वि.सं. २०६३/०६४ तिर। गोपाल हमाल एक सफल व्यवसायीका रूपमा चिनिन्थे। व्यापार कसरी बढाउने, कसरी विस्तार गर्ने, कसरी आफ्नो पोर्टफोलियो बलियो बनाउने-यी सबैमा उनको ध्यान केन्द्रित थियो। तर मनको गहिराइमा एउटा प्रश्न सधैं घुमिरहन्थ्यो-“हामी आफैं अघि नआए कसले बनाउँछ हाम्रो धनगढी?”
त्यही प्रश्नले उनलाई व्यवसायबाट बाहिर निकालेर समाज र राजनीतितर्फ डोर्यायो। सुदूरपश्चिमलाई चिनाउनुपर्छ भन्ने अठोटका साथ उनले आफ्नो अभियान सुरु गरे। कैलाली उद्योग वाणिज्य संघसँग जोडिँदा नै उनले पर्यटन र धार्मिक स्थलहरूको प्रचारमा लागे। सुदूरपश्चिमका सुन्दर स्थलहरूको तस्वीर लिएर काठमाडौंसम्म प्रदर्शनी गर्नु त्यो समयका लागि एउटा साहसी र दूरदर्शी कदम थियो।
धनगढीको नेतृत्व गर्नुपर्ने चाहना झनै प्रबल बन्दै गयो। २०७४ सालमा उनले स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदमा चुनाव लडे। परिणाम उनको पक्षमा आएन । नेपाली कांग्रेसका उम्मेदवारसँग पराजित भए। तर त्यो हारले उनको संकल्पलाई कमजोर बनाएन, झन् बलियो बनायो।
२०७९ साल आयो। फेरि चुनाव भयो। यसपटक जनता उनको पक्षमा उभिए। उनी धनगढी उपमहानगरपालिकाका मेयर बने। त्यसपछि सुरु भयो परिवर्तनको वास्तविक यात्रा।
सडक सञ्जाल विस्तार, अतिक्रमण नियन्त्रण, प्रशासनिक सुधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार यी सबै क्षेत्रमा उनले उल्लेखनीय काम गरे। केवल तीन वर्षमै धनगढीको मुहार फेरियो।
तर जीवन सधैं सजिलो कहाँ हुन्छ र?
कामकै बीचमा उनी गम्भीर स्वास्थ्य समस्यामा परे। एक समय यस्तो आयो जहाँ बोल्न, हिँड्नसम्म कठिन भयो। मृत्युको मुखबाट फर्किएका उनी पूर्ण रूपमा कमजोर भए। साथमा एक जना सहायकको आवश्यकता पर्न थाल्यो।
परिवारले आग्रह गर्यो “अब विश्राम लिनुस्, राजीनामा दिनुस्।”तर उनको मनले मान्न सकेन। धनगढी बनाउने सपना अझै अधुरो थियो।
बैशाखीको सहारामा उनले फेरि हिँड्न सुरु गरे। बिस्तारै स्वास्थ्य सुधार हुँदै गयो। अनि एक दिन उनी फेरि काममा फर्किए। उही जोश, उही लक्ष्य, उही सपना।
धनगढी मात्र होइन, अब उनको नजर सिंगो सुदूरपश्चिमतर्फ गयो।
“हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ” अभियानसँगै उनले फेरि यात्रा थाले। अपी बेस क्याम्पसम्मको यात्रामा ३० जनाको टोली लिएर निस्किँदा पनि उनको उत्साह कम भएन। सामाजिक सञ्जालमार्फत उनले सुदूरपश्चिमका सुन्दरता, सम्भावना र पहिचानलाई देश-विदेशसम्म पुर्याइरहेका छन्।
आज गोपाल हमाल केवल धनगढीका मेयर होइनन् उनी सुदूरपश्चिमको एउटा आवाज बनेका छन्। अझै ठूलो कुरा उनी नेपालीहरूको मनमा बसिसकेका छन्।
शारीरिक रूपमा कमजोर हुँदा पनि, मनको शक्ति कहिल्यै कमजोर भएन।आफ्नो ज्यानकै बाजी लगाएर काम गर्ने यस्तो नेतृत्व विरलै पाइन्छ।
गोपाल हमाल-एक नाम होइन, एउटा प्रेरणा हो।




प्रतिक्रिया दिनुहोस्