धनगढी : सुदूरपश्चिमको माटोमा दशकौँदेखि सपनाको रूपमा पल्टिरहेको, लाखौँ नागरिकको अमूल्य स्वास्थ्य अधिकार र शैक्षिक भविष्यसँग प्रत्यक्ष जोडिएको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय आज एक ऐतिहासिक मोडमा उभिएको छ। झन्डै २८-२९ अर्ब रुपैयाँभन्दा बढीको लागतमा निर्माण भएका अत्याधुनिक भौतिक संरचनाहरू, भव्य भवनहरू र सुविधा सम्पन्न पूर्वाधारहरूले यो क्षेत्रलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय चिकित्सा शिक्षाको हब बनाउने बलियो आधार तयार पारेका छन्। तर विडम्बना, यो गौरवशाली परियोजनाले पूर्ण गति लिन लाग्दा यसैलाई अल्झाउने, विवादित बनाउने र विभिन्न स्वार्थ समूहका खेल मैदान बनाउने दुष्प्रयासहरू अझै रोकिएका छैनन्। यो कुनै एक संस्थाको मात्र विषय होइन, यो समग्र सुदूरपश्चिमको स्वाभिमान र भविष्यमाथिको प्रहार हो, जसमाथि कुनै पनि हालतमा वैरी वा कुदृष्टि लगाउने छुट कसैलाई पनि छैन।
सुदूरपश्चिममा मेडिकल कलेज स्थापना गर्ने कुरा कुनै नयाँ एजेन्डा होइन; यसको फेरबहादुर इतिहास लगभग दुई दशकभन्दा पुरानो छ। वि.सं. २०५६ सालमै गेटा क्षेत्रमा जग्गा छुट्याइए पनि यसले ठोस रूप लिन वर्षौंसम्म अनेकौँ राजनीतिक दाउपेच, प्रशासनिक सुस्ती र उपेक्षाको सामना गर्नुप¥यो। हरेक निर्वाचनमा भोट माग्ने भर्याङ मात्र बनाइएको गेटामा अन्ततः २०६५–६६ सालदेखि बजेट विनियोजन भई भौतिक पूर्वाधार निर्माणको प्रक्रिया औपचारिक रूपमा थालिएको थियो। डेढ दशकभन्दा लामो समयसम्म कहिले गुरुयोजना (DPR) को अलपत्र त कहिले बजेट अभाव र कहिले कानुनी अल्झनका कारण यो परियोजना खैलाबलाको सिकार बन्दै आयो। यसबीचमा सुदूरपश्चिमका जनताले गेटा सञ्चालनका लागि अनगिन्ती माग, ज्ञापनपत्र र आन्दोलनहरूको सामना गर्नुप¥यो। अर्बौं रुपैयाँ खर्चेर ठडिएका संरचनाहरूमा ताला झुन्डिरहँदा यहाँका बिरामीहरू सामान्य उपचारका लागि समेत भारतका विभिन्न सहर वा राजधानी काठमाडौँ धकेिन बाध्य हुनुपर्ने कहालीलाग्दो यथार्थ कसैबाट लुकेको छैन।
वर्षौंदेखि अलपत्र परेको गेटालाई जीवन्तता दिन पछिल्लो समय राज्यका तर्फबाट अभूतपूर्व तदारुकता देखाइयो। संघीय संसद्बाट ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन’ पारित भएपछि यसले औपचारिक रूपमा स्वायत्त र उच्च शैक्षिक संस्थाको कानुनी रूप पायो। वर्तमान सरकार र सम्बद्ध निकायहरूको विशेष तत्परता तथा दृढ इच्छाशक्तिका कारण यसै वर्ष यस विश्वविद्यालयले चिकित्सा शिक्षाको पठनपाठनका लागि ऐतिहासिक सफलता हासिल गरेको छ। विश्वविद्यालयले शैक्षिक सत्रका लागि एमबिबिएस (MBBS) तर्फ ५० सिटसहित नर्सिङ र अन्य स्वास्थ्य विज्ञानका कार्यक्रमहरूमा समेत सिट निर्धारण प्राप्त गरिसकेको छ। ३०० शय्याको शिक्षण अस्पताल सञ्चालनमा आउने निश्चित भई उपकुलपति र रजिस्ट्रारजस्ता प्राज्ञिक नेतृत्वको नियुक्तिसँगै गेटा अब कागजी योजनाबाट निस्केर वास्तविक धरातलमा बिरामीको उपचार र डाक्टर उत्पादन गर्ने सुदूरपश्चिमकै पहिलो मेडिकल विश्वविद्यालयका रूपमा उभिएको छ।
जब गेटाले कानुनी र प्राज्ञिक रूप लिएर सुदूरपश्चिमवासीका घरआँगनमा डाक्टर बन्ने र गुणस्तरीय स्वास्थ्य सेवा पाउने सपना साकार पार्दैछ, ठीक यही बेला केही व्यक्ति तथा समूहहरू यसका विरुद्ध चलखेल गर्न तम्सिनु अत्यन्तै आपत्तिजनक छ। चिकित्सा शिक्षा सुधारका नाममा विभिन्न कालखण्डमा योगदान दिएका अभियन्ताहरूद्वारा नै गेटाको सिट निर्धारण खारेजीको माग गर्दै फेरि आन्दोलनका स्वरहरू उचालिनु र यसलाई विवादको भूमरीमा तान्ने प्रयास हुनुले गेटाप्रति कसै न कसैको कुदृष्टि अझै पनि कायम रहेको प्रष्ट्याउँछ। यदि कसैका व्यक्तिगत अहम्, अहंता, वा निहित स्वार्थ सिद्ध गर्नका लागि सुदूरपश्चिमको दशकौँको तपस्या र लाखौँ जनताको स्वास्थ्य अधिकारमाथि खेलबाड गरिन्छ भने त्यो यहाँका जनतालाई सह्य हुने छैन। सिट निर्धारण खोस्ने वा विभिन्न बहानामा विश्वविद्यालयको गति रोक्ने षड्यन्त्र गर्नु भनेको सुदूरपश्चिमका बिरामीलाई फेरि पनि मृत्युको मुखमा धकेल्नुसरह हो।
ज्ञान, विज्ञान र स्वास्थ्य सेवाको यो महाअभियान अब कुनै पनि हालतमा पछाडि फर्किन सक्दैन र फर्काइनु पनि हुँदैन। २८-२९ अर्बको राष्ट्रिय लगानीबाट तयार भएका संरचनाहरूलाई कुनै पनि राजनीतिक पूर्वाग्रह, सङ्कुचित वाद वा व्यक्तिगत असन्तुष्टिको दाउपेचबाट मुक्त राखिनुपर्छ। यो विश्वविद्यालय कुनै एक व्यक्तिको वा राजनीतिक दलको मात्र होइन, यो सुदूरपश्चिमको मुटु हो, यस क्षेत्रको स्वाभिमानको प्रतीक हो। तसर्थ, गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयतर्फ उठ्ने गरेका सबै प्रकारका कृत्रिम अवरोध, पूर्वाग्रही विरोध र कुदृष्टिहरूलाई यहाँका सचेत नागरिक, बौद्धिक वर्ग, युवा तथा सञ्चारजगतले दृढतापूर्वक चिर्नुपर्छ। गेटामाथि कसैका पनि वैरी र कुत्सित आँखा नलागून्; यसलाई निर्बाध रूपमा सञ्चालन हुन दिइनुपर्छ र यसको चौतर्फी रक्षाका लागि सम्पूर्ण सुदूरपश्चिमवासी एक ढिक्का भएर उभिनै पर्छ।




प्रतिक्रिया दिनुहोस्