काठमाडौं । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल–भारत सीमा विवादसम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनको राजीनामा माग गरेको छ ।
मंगलवार काठमाडौंको शान्तिबाटिकामा आयोजित खबरदारी सभामा पार्टीले प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई आपत्तिजनक भन्दै सार्वजनिक रूपमा विरोध जनाएको हो ।
खबरदारी सभामा बोल्दै नेता सन्तोष राईले प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएर नेपाली नागरिकको भावनामा चोट पुर्याएको आरोप लगाए ।
उनका अनुसार उक्त अभिव्यक्तिले नेपालको सार्वभौमिकता र राष्ट्रिय प्रतिष्ठामा धक्का पुगेको छ भने स्वाभिमानी नागरिकको आत्मसम्मानमा समेत चोट पुगेको छ ।
राईले काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा ग्रेटर नेपालको नक्सा कार्यालयमा राख्ने र प्रधानमन्त्री बनेपछि फरक धारणा सार्वजनिक गर्नु विरोधाभासपूर्ण भएको टिप्पणी गरे ।
‘प्रधानमन्त्रीज्यूले प्रतिनिधिसभामा नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति दिनुभएकोप्रति हाम्रो घोर आपत्ति छ,’ राईले भने, ‘यो अभिव्यक्तिले नेपाली नागरिकको शिर निहुरिएको अवस्था छ । उहाँले या त सार्वजनिक रूपमा माफी माग्नुपर्छ, नभए राजीनामा दिनुपर्छ ।’
प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा आइतबारको बैठकमा नेपालले मात्र नभई भारतले पनि नेपालको भूमि मिचेको अभिव्यक्ति दिएपछि उक्त विषय राजनीतिक रूपमा विवादित बनेको छ ।
उक्त अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संघीय संसदको बैठक अवरुद्ध गर्दै आएका छन् ।





प्रतिक्रिया दिनुहोस्