२१ वैशाख, काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभा बैठक बोलाउन दबाब बढाइरहेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्ने, भिडियो सन्देश जारी गर्नेदेखि सार्वजनिक सम्बोधन गर्दा पनि साम्पाङले संसद् बैठक तत्काल राख्न माग गरिरहेका छन् ।
‘संसद् खोल्न पर्दैन ? किन जनमतलाई यसरी बन्दी बनाएको ?’ पछिल्लो एक स्टाटसमा उनले भनेका छन् । असाध्यै धेरै स्टाटस लेख्ने र बोलिरहने स्वभावका साम्पाङले आइतबार बिहानदेखि रातिसम्म लेखेका स्टाटस र भिडियो हेर्दा मात्रै पनि उनको प्राथमिकता बुझ्न सकिन्छ ।
अनेक प्रसङ्ग र घटनाहरूको सन्दर्भलाई उनले प्रतिनिधिसभा बैठकसँगै जोडेका छन् । ‘जनताको आवाज उठाउँछौँ भनेरै आएका हौँ । अहिले जनताले आत्महत्या गर्नुपर्ने स्थिति सरकारले ल्याएको छ,’ उक्त पार्टीका सांसद ध्रुवराज राई भन्छन्, ‘संसद् बैठक तत्काल बोलाउनुपर्छ, त्यहाँ हामी कुरा राख्छौँ ।’
प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठक बोलाउने निर्णय सच्याएपछि साम्पाङले आफ्नो दबाबलाई अझ बढाएको देखिन्छ । गत ८ वैशाखमा सरकारले प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको थियो । तर १७ वैशाखमा बस्नेगरी बोलाइएको संसद् बैठक स्थगित गर्न १० वैशाखमा अर्को पत्र शीतल निवास पठाइयो ।
बोलाइसकेको संसद् बैठक स्थगित गरेर सरकारले एकपछि अर्को अध्यादेश सिफारिस गर्यो । १४ वैशाखयता ८ वटा अध्यादेश सिफारिस भएकामध्ये ७ वटा प्रमाणीकरण भइसकेका छन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचार गर्न भन्दै फिर्ता गरेका छन् ।
अध्यादेश ल्याउने निर्णयविरुद्ध अरू विपक्षी दलहरूले पनि विरोध जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राप्रपाले संयुक्त बैठक बसेर अध्यादेश ल्याउने निर्णयको विरोध गरेका छन् । विपक्षीहरूसँग संयुक्त विज्ञप्ति निकाल्ने र बैठक बस्नेमा श्रम संस्कृति पार्टी देखिएको छैन ।
तर सरकारलाई प्रश्न गर्न श्रम संस्कृति पार्टी र यसका अध्यक्ष साम्पाङ अरू विपक्षी दलहरूभन्दा ‘भिजिवल’ देखिन्छन् । सरकारका निर्णयहरूविरुद्ध यो पार्टीको निर्णय, नेताहरूको गतिविधि र स्वयम् साम्पाङका वक्तव्यहरूले यो तथ्य पुष्टि हुन्छ ।
र, संसद्मा छलफल गर्नुपर्ने भनेर साम्पाङले प्राथमिकताका साथ तीन एजेन्डा उठाइरहेका छन्- सुकुमवासी बस्तीमा चलिरहेको डोजर, अध्यादेश र राष्ट्रियता ।
सुकुमवासीलाई साथ
गत १२ वैशाखदेखि हजारौँलाई बेघर बनाउनेगरी सुकुमवासी बस्तीहरूमा डोजर चलाउने निर्णयविरुद्ध हर्क साम्पाङ सुकुमवासीलाई उक्साउने तहमै पुगिसकेका छन् । डोजर चल्नुअघिसम्म साम्पाङले सरकारलाई निर्णय फिर्ता लिन आग्रह गरिरहेका थिए ।
तर पछिल्ला स्टाटसहरू सुकुमवासीलाई उक्साउने तहका छन् । ‘सरकारले दादागिरी देखाएर जबर्जस्ती गरी मानव अधिकार हनन गर्छ भने जनता चुपो लागेर नबस्नु । प्रतिवाद र प्रतिकारमा उत्रनु,’ साम्पाङले लेखेका छन्, ‘बुद्धि लगाऊ सरकार, बल होइन ।’
प्रतिवादमा उक्साउनेगरी अरू पनि थुप्रै स्टाटस साम्पाङले लेखेका छन् । घरटहरा भत्काउने प्रहरीलाई पनि उनको प्रश्न छ, ‘प्रहरी दाजुभाइ–दिदीबहिनी हो, तपाईँहरूले भत्काइरहनुभएको घरटहरामा बस्ने को हुन् ? ती नेपाली दाजुभाइ हुन् कि होइनन् ?’
डा. विजय मिश्रले साम्पाङकै सिद्धान्त ‘हर्कवाद’ बारे लेखेको पुस्तक विमोचनका क्रममा दिएको उनको अभिव्यक्तिले धेरैको ध्यान तानेको थियो । साम्पाङले प्रधानमन्त्री बालेन्द्रसँग सोधेका थिए, ‘जग्गा सरकारी हो भने जनता कसको हो ?’

हरेकजसो प्रश्नको जवाफ प्रधानमन्त्री बालेन्द्र र रास्वपा सभापति रवि लामिछानेसँग मागिरहेका छन् । तर कुनै जवाफ नपाइरहेका साम्पाङले प्रधानमन्त्रीको राजीनामा माग्न थालेका छन् । ‘बालेनजी, राजीनामा दिएर मार्गप्रशस्त बनाउन बुद्धिमानी ठहर्छ है,’ शनिबार लेखेको एक स्टाटसमा उनले भनेका छन्, ‘आन्दोलन सुरु भइसक्यो । जनतालाई आन्दोलित बनाइराख्ने मान्छे अभिभावक बन्न सक्दैन ।’
डोजर चल्नुअघि उक्त पार्टीका अर्का सांसद आरेन राई काठमाडौँका सुकुमवासी बस्तीहरूमै पुगेका थिए । साम्पाङ आफैँ पनि सुकुमवासी बस्ती पुगेर साथ दिने प्रतिबद्धता गरेका थिए । ‘हुकुम्बासीलाई खेदे पनि हुन्छ, हाम्रो भन्नु केही छैन । तर सुकुमवासीको रक्षा गरिनुपर्छ, सडकमा अलपत्र पारिनु हुन्न,’ श्रम संस्कृतिका सांसद ध्रुव राई भन्छन् ।
सुकुमवासी बस्तीमा डोजर चलाउने कदमको पक्षमा जो उभिए पनि यो पार्टीले चर्को स्वरमा आपत्ति जनाइरहेको छ । ‘सेनाले मागेको सुकुमवासीको लगत कुनै पनि पालिकाले नदिनुहोला । सुकुमवासीको लगत माग्ने निकाय सेना र प्रहरी होइन,’ हर्क साम्पाङले स्टाटसमार्फत आग्रह गरेका थिए, ‘यो सरासर गलत छ । आतङ्क सिर्जना गर्न खोजिएको हो ।’
निर्वाचनका क्रममा सुकुमवासी बस्तीमा डोजर चले छाती थाप्ने रवि लामिछानेको अभिव्यक्तिलाई पनि श्रम संस्कृति पार्टीका नेताहरूले लगातार सम्झाइरहेका छन् । उनीहरूको मुख्य उद्देश्य नै सुकुमवासी बस्तीमा डोजर चल्न बन्द गराउने देखिन्छ ।
एक भिडियो सन्देशमार्फत त साम्पाङले डोजर बन्द गरेर धनीपुर्जा वितरण गर्न सुझाव दिएका छन् । ‘ऐलानी जग्गामा घर बनाउनेहरूलाई उक्त जग्गा सरकारी मूल्यमा बिक्री गर्ने र धनीपुर्जा दिने’ विकल्प उनले दिएका छन् । यसो गर्दा राज्यलाई खर्बौँ राजस्व उठ्ने र जनतालाई पनि न्याय हुने उनको मत छ । ‘भूमिहीन लाखौँ मानिससँग जुधेर, झगडा गरेर हुँदैन,’ उनको सुझाव छ ।
सुकुमवासी बस्तीहरूमा डोजर चलाउने सरकारको निर्णयमा कडा आपत्ति जनाइरहेका श्रम संस्कृतिका अध्यक्ष साम्पाङको अर्को आपत्ति अध्यादेशहरूमा छ ।
‘संसद्लाई छलेर अध्यादेश ल्याउनु भनेको लोकतन्त्र र जनमतविरोधी हर्कत हो,’ उनको निष्कर्ष छ । जनताले दिएको बहुमत हुँदाहुँदै अध्यादेशबाट सरकार चलाउने निर्णयप्रति साम्पाङले निन्दा गरिरहेका छन् ।
राष्ट्रियताको एजेन्डा त प्रतिनिधिसभाको पहिलो बैठकमै अध्यक्ष साम्पाङले उठाइसकेका छन् । १९ चैतमा बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्ने क्रममा पहिलो नम्बरमै उनले अमेरिकी सहायता परियोजना (एमसीसी) खारेजीको प्रस्ताव राखेका थिए ।
सार्वजनिक अभिव्यक्तिमार्फत लगातार एमसीसीबारे सरकारको धारणा मागिरहेका साम्पाङले अहिले लिपुलेकको विषय उठाइरहेका छन् । सुकुमवासी बस्तीमा डोजर चलिरहेको सन्दर्भमै पनि प्रधानमन्त्री बालेन्द्रलाई सिमानाको प्रसङ्ग जोडेर प्रश्न गरिरहेका छन् ।
अर्थात्, विपक्षी बेन्चबाट चर्को स्वरमा आवाज उठाउने शक्तिमा श्रम संस्कृति पार्टी र यसका अध्यक्ष साम्पाङ देखिन्छन् । उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुरलाई निर्वाचित गराउन रास्वपाले समर्थन गरिरहँदा धेरैले साम्पाङको भूमिका बदलिन सक्ने आकलन गरेका थिए ।
अरू विपक्षीले समेत उपसभामुख पदमा दाबी गरिरहँदा रास्वपाले रुबीकुमारीलाई समर्थन गर्नुले त्यस्तो आकलन स्वाभाविक पनि थियो । तर उपसभामुख पदमा समर्थन गर्दा कुनै पूर्वसर्त नभएको उक्त पार्टीका नेताहरू बताउँछन् ।
‘राम्रो काम गर्दा समर्थन हुन्छ तर गलत गरिरहेको छ भने प्रशंसा गर्न सकिँदैन,’ सांसद ध्रुव राई भन्छन्, ‘उपसभामुखमा सहयोग गरेको कुरालाई हामीले धन्यवाद भनिसकेका छौँ । फेरि यो कुनै पूर्वसर्तका आधारमा भएको निर्णय पनि होइन ।’
देशभर फैलिने चाहना

पुराना दलहरूलाई किनारा लगाउँदै झन्डै दुईतिहाइ बहुमतसहित आएको रास्वपा नेतृत्वको सरकारलाई चर्को प्रश्न गरिरहेका हर्क साम्पाङको दौडधुप पनि बाक्लो बनेको छ । दार्चुलाको दुम्लिङ पुगेर केही दिन श्रमदान गरेपश्चात् उनी यतिखेर पूर्वी पहाडका जिल्लाहरूमा केन्द्रित देखिन्छन् । पूर्वी पहाड साम्पाङको बलियो प्रभाव रहेको क्षेत्र पनि हो ।
स्थापित दलहरूलाई पछि पार्दै श्रम संस्कृतिले कोशी प्रदेशमा दोस्रो धेरै जनमत पाएको छ । कोशीमा समानुपातिकतर्फ ८ लाख ५३ हजार १८३ मत ल्याएर रास्वपा पहिलो शक्ति बन्दा २ लाख ९२ हजार ४९ मत ल्याएर श्रम संस्कृति पार्टी दोस्रो शक्ति बन्यो ।
देशका सबै निर्वाचन क्षेत्रबाट मत पाउने शक्तिको परिचयसमेत बनाएको श्रम संस्कृतिले मधेसमा ९ हजार ८५४, बागमतीमा ३१ हजार ५३९, गण्डकीमा १८ हजार ९९५, लुम्बिनीमा २३ हजार ५०३, कर्णालीमा ४ हजार ६५७ र सुदूरपश्चिममा ५ हजार ३०५ मत पाएको थियो ।
पार्टी गठनको चार महिनाभित्रै प्रत्यक्षतर्फ ३ सिट जितेको यो पार्टीले ‘थ्रेस होल्ड’ (३ लाख ८५ हजार ९०२ मत पाएर) कटाउँदै राष्ट्रिय पार्टी बन्दा समानुपातिकतर्फ थप ४ सिट पायो । सिट सङ्ख्याका आधारमा जम्मा ७ सिटको पार्टी भए पनि राष्ट्रिय राजनीतिक परिस्थितिमा साम्पाङको आवाज अर्थपूर्ण बनिरहेको छ ।
पुराना दलहरूलाई चुनौती दिएर आएका नयाँहरूमध्ये श्रम संस्कृति विपक्षी बेन्चमा रहेकाले पनि उसको कुरालाई चासोका साथ सुनिँदै गरेको प्रस्ट छ ।
र, हर्क साम्पाङको ध्यान भने सरकारलाई प्रश्न गर्दै आफ्नो दलको आकार बढाउनेतिर देखिन्छ । सुकुमवासी समस्यामै पनि श्रम संस्कृतिले भोटको राजनीति गर्न खोजेको लुक्दैन । साम्पाङले खुलेरै भोट मागिरहेका पनि छन् ।
‘माटो बोक्ने मान्छे रुखो बोल्छ, झुटो बोल्दैन,’ साम्पाङको एक स्टाटस छ, ‘पछुतो गरेर केही हुँदैन । मलाई जिताएको भए धनीपुर्जा दिन्थेँ । बालेनलाई जिताए, बेघर र बेहाल बनायो ।’ साम्पाङले अहिले सुकुमवासी बस्तीमा चलेको डोजर सम्झेर अर्को चुनावमा मत दिन आग्रह गरिरहेकै छन् ।
श्रम संस्कृतिलाई देशभर फैलाएर जनमत निर्माण गर्ने साम्पाङको परिचित शैली नै हो । निर्वाचनलगत्तै दार्चुलाको दुम्लिङमा झोलुङ्गे पुल बनाउने अभियान चलाएर उनले आफ्नो अभियानलाई देशव्यापी बनाउन खोजेको बुझ्न सकिन्छ ।
२१ फागुनको निर्वाचनअघि नै एक बच्चाले तुइन तरिरहेको भिडियो पोस्ट गरेर त्यहाँ पुल बनाउने हर्कले घोषणा गरेका थिए । घोषणाबमोजिम आफैँ दुम्लिङ पुगेर श्रमदान गरे ।
राजधानी काठमाडौँ आउँदा यही श्रमदान, धरान जाँदा धरानमै र अन्यत्र जाँदा त्यही श्रम अभियान चलाउनु उनको विशेषता बनेको छ । ‘विदेशी ऋण लिएर देश नबन्ने’ उनको निष्कर्ष छ । नेता–कार्यकर्ताको सम्बोधन नगरेर पार्टीमा आबद्ध हुनेहरूलाई श्रमदाता भनिरहेका साम्पाङले आगामी स्थानीय निर्वाचन र प्रदेश निर्वाचनलाई पनि प्राथमिकतामा राखेको देखिन्छ ।
पूर्वमन्त्री सुदन किरातीलाई सामाजिक सञ्जालबाटै पार्टी प्रवेशको दबाब दिइरहेका छन् । ‘सुदन किरातीजी, छिटो आउनुपर्यो है ! शब्दमा अल्झिएर मुद्दा ओझेलमा नपरोस्,’ सुदनबारे हर्कको पछिल्लो स्टाटस छ ।
केही दिन अगाडि धरानको मेयरबारे उनको स्टाटस थियो, ‘ल भनौँ त, यो आउने स्थानीय चुनावमा धरानको मेयरको टिकट कसलाई दिँदा राम्रो होला मैले ? कसले जित्ला ?’ सार्वजनिक मत बुझ्न खोजेका छन् ।




प्रतिक्रिया दिनुहोस्