गोपाल हमाल अब महानगरको प्रमुख कि प्रदेशको मुख्यमन्त्री ?

भक्तराज जोशी

धनगढी – सुदूरपश्चिमको राजनीतिमा अहिले फेरि एउटा नाम चर्चामा छ त्यो हो गोपाल हमाल(गोपी)। धनगढीका चिया पसलदेखि सामाजिक सञ्जालसम्म, गाउँघरका चौतारीदेखि शहरका चिया पसल सम्म एउटै प्रश्न घुमिरहेको छ अब गोपाल हमालको राजनीतिक यात्रा कता मोडिन्छ ?

२०७९ सालमा स्वतन्त्र उम्मेदवारका रूपमा धनगढी उप-महानगरपालिकाको प्रमुख बनेपछि हमालले छोटो समयमै आफूलाई “काम गर्ने मेयर” का रूपमा चिनाए। सडक सुधार, सरसफाइ, व्यवस्थापन र जनसरोकारका काममा उनको सक्रियता देखियो। जनतासँग गरेको वाचा पूरा गर्ने प्रयासले उनको लोकप्रियता अझ बढाएको छ।पदमा निर्वाचित भएका हमालले छोटो अवधिमै विकासका थुप्रै संकेतहरू देखाए। जनतासँग गरेको प्रतिबद्धता पूरा गर्ने प्रयासले उनको राजनीतिक उचाइ झन् बढायो, र सँगै बढायो अब के गर्ने भन्ने जिज्ञासा।

यतिबेला धनगढी उपमहानगरपालिकाबाट महानगर बन्ने सम्भावना बलियो बनेको छ। यदि यो रूपान्तरण भयो भने, के हमाल फेरि महानगरको प्रमुख बन्ने दौडमा उत्रिनेछन् ? वा सिधै प्रदेश सरकारको नेतृत्व सम्हाल्दै सुदूरपश्चिमका मुख्यमन्त्री बन्ने लक्ष्यतर्फ अघि बढ्नेछन् ? यी प्रश्नहरूले अहिले राजनीतिक वृत्त मात्र होइन, आम जनमानसलाई पनि तताइरहेका छन्।

स्थानीय तहको निर्वाचनपछि हुनुपर्ने संघीय निर्वाचन आन्दोलनका कारण छिटो हुँदै २०८२ सालमा सम्पन्न भयो। यसबीच वैकल्पिक शक्तिको प्रभाव उल्लेखनीय रूपमा बढ्यो। धेरै स्थानीय र प्रदेश तहका नेताहरू पद त्यागेर संघीय राजनीतितर्फ लागे। तर हमाल भने फरक बाटोमा देखिए। “जनतालाई दिएको वाचा छोड्दिनँ” भन्ने अडानका साथ उनी धनगढीमै बसे, आफ्नै जिम्मेवारीमा अडिग रहे। यही अडानले उनलाई भीडभन्दा फरक चिनायो।

यता स्वतन्त्र रूपमा उदाएका काठमाडौंका मेयर बालेन शाह र धरानका मेयर हर्क साम्पाङ जस्ता नेताहरू राष्ट्रिय राजनीतितर्फ उन्मुख हुँदा, देशभर एउटा आवाज उठ्यो यी तीनै जना मिल्नु पर्छ,वैकल्पिक धार एक हुनु पर्छ। जनस्तरबाट दबाबसमेत सिर्जना भयो। तर हमालले त्यो बाटो रोजेनन्। उनले स्थानीय सरकारमै बसेर काम गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याए। उता बालेन र हर्कबीच पनि सहकार्य सम्भव भएन।

यसैबीच, वैकल्पिक शक्तिका रूपमा उदाएको राष्टिय ूस्वतन्त्र पार्टीलाई पनि जनताले आशाको नजरले हेरे। समयक्रममा जनदबाब बढ्दै जाँदा बालेन र उक्त दलबीच सहकार्य भएको चर्चा चल्यो, र बालेन राष्ट्रिय राजनीतिमा अझ सशक्त रूपमा उदाए। यही क्रममा रास्वपाका पार्टी सभापती रबि लामिछानेले हमाललाई पटक-पटक सहकार्यका लागि आग्रह गरेको स्रोतहरू बताउँछन्। बालेन शाहले समेत व्यक्तिगत रूपमा सम्पर्क गरेर सहकार्यको प्रस्ताव राखेको चर्चा छ। तर ती सबै प्रस्तावबीच हमालले एउटै निर्णय दोहोर्‍याए-स्वतन्त्र पहिचान नछोड्ने।

अहिले भने समय फेरिँदैछ। स्थानीय तहको अर्को निर्वाचन नजिकिँदै छ, र सबै दल तथा नेताहरू तयारीमा जुटिरहेका छन्। राष्टिय ूस्वतन्त्र पार्टीले त उम्मेदवार बन्न इच्छुकहरूका लागि नाम दर्ता गर्ने प्रक्रिया नै सुरु गरिसकेको छ। यता हमाल भने “हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ” अभियानका साथ ३० जनाको टोली लिएर अपि बेस क्याम्पको यात्रामा निस्किएका छन्। यो यात्रा केवल भ्रमण मात्र होइन, सुदूरपश्चिमको पहिचान, सम्भावना र आफ्नोपनलाई उजागर गर्ने प्रयासका रूपमा हेरिएको छ।

यसबीच धनगढी महानगर बन्ने सम्भावना अझ बलियो बन्दै गएको छ। यस्तो अवस्थामा हमालको अगाडि तीनवटा स्पष्ट बाटा देखिन्छन् । महानगरको प्रमुखमा उम्मेदवारी दिने, कुनै राजनीतिक दलमा आबद्ध भएर प्रदेशको मुख्यमन्त्री बन्ने दौडमा लाग्ने, वा आफ्नै क्षेत्रीय शक्ति निर्माण गरेर नयाँ राजनीतिक धार सिर्जना गर्ने।

केही समयअघि स्वास्थ्य समस्याका कारण केही कमजोर देखिएका हमाल अहिले भने पुनः सक्रिय बनेका छन्। उनको स्वास्थ्य सुधारसँगै राजनीतिक सक्रियता पनि बढेको देखिन्छ। त्यसैले अहिलेको सबैभन्दा ठूलो जिज्ञासा यही बनेको छ । अब गोपाल हमाल के गर्छन् ?

उत्तर समयले दिनेछ। तर यति निश्चित छ उनको आगामी निर्णयले सुदूरपश्चिमको मात्र होइन, समग्र देशको राजनीतिमा नयाँ बहस, नयाँ तरंग र सम्भवतः नयाँ दिशा दिनेछ।
अब सबैको नजर एउटै ठाउँमा छ गोपाल हमालको अर्को कदम के होला ?

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार