धनगढी : धनगढीका शैलेश्वरी माध्यमिक विद्यालय, एक्सिस र राइजिङ स्टार विद्यालयले छात्रवृत्तिसम्बन्धी सूचना सार्वजनिक रूपमा प्रकाशन गरेपछि शिक्षा क्षेत्रमा पारदर्शिताको बहस फेरि तातेको छ। यी विद्यालयहरूले खुला रूपमा सूचना जारी गर्दै छात्रवृत्ति वितरण प्रक्रियालाई सबैका लागि देखिने बनाएका छन्, जसलाई सकारात्मक र उदाहरणीय कदमका रूपमा हेरिएको छ।
पछिल्लो समय निजी विद्यालयहरूमा छात्रवृत्ति वितरणमा अपारदर्शिता, मनपरी र पहुँचवालालाई प्राथमिकता दिने गुनासो बढ्दै गएको छ। “१० प्रतिशत छात्रवृत्ति” को व्यवस्था कागजमै सीमित रहेको आरोप लाग्दै आएको छ। कतिपय विद्यालयहरूले आफू नजिकका व्यक्ति, चिनेजानेका वा संस्थापकसँग सम्बन्धित व्यक्तिहरूलाई मात्र छात्रवृत्ति दिने गरेको गुनासो अभिभावकहरूबाट पटक–पटक उठ्दै आएको छ।
यही विषयमा निरन्तर समाचारहरू प्रकाशित भइरहेका बेला शैलेश्वरी, एक्सिस र राइजिङ स्टारजस्ता केही विद्यालयहरूले भने खुला रूपमा सूचना प्रकाशित गर्दै पारदर्शितातर्फ कदम चालेका छन्।
शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली, २०५९ अनुसार शिक्षा मन्त्रालयले पनि निजी विद्यालयलाई कम्तीमा १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराई त्यसको विवरण सार्वजनिक गर्न स्पष्ट निर्देशन दिएको छ। तर, धनगढीका धेरै ‘नाम चलेका’ तथा आर्थिक रूपमा सम्पन्न निजी विद्यालयहरू अझै यो विषयमा मौन देखिन्छन्।
एश्वर्य विद्या निकेतन, डिस्कभरी स्कूल, एरिष्टो स्कूल, नास्ट कलेज, थ्री स्टार स्कूललगायत अन्य निजी विद्यालयहरूले अहिलेसम्म छात्रवृत्ति प्राप्त गर्नेसम्बन्धी कुनै सार्वजनिक सूचना जारी नगरेको पाइएको छ। यसले पारदर्शिताप्रति उनीहरूको प्रतिबद्धतामाथि प्रश्न उठाएको छ।
शिक्षा क्षेत्रमा समान अवसर सुनिश्चित गर्न छात्रवृत्ति प्रणाली पारदर्शी र निष्पक्ष हुनु आवश्यक छ। केही विद्यालयले सुरु गरेको यो खुलापनले अब अन्य विद्यालयहरूलाई पनि जिम्मेवार बन्न दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया दिनुहोस्