धनगढीः कैलालीमा जेन्जी आन्दोलनका क्रममा आगजनी र तोडफोड गरिएका भौतिक संचरनाको क्षतिको विवरण संकलन भइरहेको छ।
भदौ २४ मा भएको प्रदर्शनमा सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरका संघ, प्रदेश र स्थानीय तह मातहतका कार्यालय र संचरनामा आगजनी, तोडफोड र लुटपाट भएको थियो।
जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार कैलालीमा १०३ वटा सरकारी कार्यालय भवनमा आगजनी तथा तोडफोड गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले प्रदर्शनको क्रममा १०३ सरकारी कार्यालयका भवन, १७ वटा पार्टी कार्यालय भवन, १२ वटा निजी घर र पाँच वटा प्रहरी बिट क्षतिग्रस्त भएको जनाएको छ ।
प्रहरीलेका अनुसार कैलाली जिल्लाभर ११४ वटा चार पाङ्ग्रे, ५४३ वटा दुई पाङ्ग्रे, ६ वटा तीन पाङ्ग्रे र १५ वटा साइकल गरी ६७८ सवारी साधनमा आगजनी र तोडफोड गरिएको छ ।
प्रदेश सरकारको मन्त्रालयहरू रहेको धनगढीमा सबैभन्दा बढी सरकारी संरचनामा क्षति पुगेको छ भने स्थानीय तह, वडा कार्यालय, विभिन्न विषयगत कार्यालयका भवनमा समेत आगजनी, तोडफोड र लुटपाट गरिएको छ।
कैलालीमा धनगढी र गोदावरी नगरपालिकाको अत्तरियामा आगजनी, लुटपाट र तोडफोड गरिएको छ। प्रदर्शनकारीको आक्रमणका कारण संरचना क्षतिग्रस्त भएपछि सरकारी कार्यालयको सेवा अहिले ठप्प छ ।
मन्त्रालयको मुचुल्का तयार गर्दै प्रहरी
भदौ २३ गते सामान्य प्रदशर्न भएको धनगढीमा भदौ २४ भने भीषण प्रदर्शन भएको थियो। २५ गतेबाट अवस्था समान्य बनेपछि अहिले प्रहरीमार्फत क्षतिग्रस्त कार्यालयको विवरण संकलन गर्दै मुचुल्का उठाउने काम भइरहेको छ ।
आगजनीले क्षतिग्रस्त सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित प्रदेश सभा र अन्य मन्त्रालयमा प्रहरीले मुचुल्का संकलन गरिरहेको मुख्यमन्त्री कार्यालयका प्रवक्ता नवराज ओझाले बताए। उनले जलेर नष्ट भएको भौतिक सामानको विवरण लिने काम भइरहेको र केही कोठाबाट सामान्य सेवा प्रवाह गर्ने तयारी थालिएको बताए।
हिजो प्रमुख सचिव ज्यूले सचिव ज्यूहरूसँग बैठक राख्नु भएको थियो। आज सुबै मन्त्रालय र कार्यालयमा क्षतिको विवरण लिने र प्रहरी मुचुल्का उठाउने काम भइरहेको छ,’ उनले भने, ‘कर्मचारी साथीहरू सबै आउनु भएको छ। आजैबाट सामान्य सेवा सुरू हुन्छ।’
प्रदेश सभामा भने आइतवार नै प्रहरीले मुचुल्का उठाएको छ। प्रदेश सभा सचिवालय भवन र प्रशासनिक भवनका सम्पूर्ण सामान र स्रेस्ता जलेर नष्ट भएको सूचना अधिकारी युवराज जैसीले बताए। उनले प्रहरीले मुचुल्का संकलन गरिसकेपछि सरसफाइ गरेर अत्यावश्यक र प्रशासनिक काम मङ्गलवारदेखि सुरू हुने बताए। ‘आगजनीले सभामुख ज्यूको कार्यकक्ष र दुई वटा विषयगत समितिको कक्षबाहेक लगभग सबै संचरनामा क्षति पुगेको छ । हिजो मुचुल्का उठाउने काम भयो, ’ जैसीले भने, ‘आज सशस्त्र प्रहरीले सरसफाइ गरेको छ । भोलिदेखि बचेको कोठाबाट प्रशासनिक काम अघि बढाउने सोच बनाएका छौँ।’
प्रदेश सरकार अन्तर्गतका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लगायतका संरचना पनि क्षतिग्रस्त भएका छन्। यी सबै कार्यालयको क्षति विवरण लिने काम भइरहेको छ। यी मन्त्रालयका भवन जलेर पूर्ण रूपले क्षतिग्रस्त नभए पनि फर्निचर, कुर्सी, टेबुल, सोफासहित कागजपत्र भने जलेर नष्ट भएका छन्। मन्त्रालयहरूमा प्रहरीको मुचुल्का संकलनपछि सरसफाइ गर्ने र बाँकी रहेका संरचनाबाट सेवा सुचारू गरिने भएको छ।
मुख्यमन्त्रीसहित मन्त्रीहरू सेनाको व्यारेकबाट फर्किए
धनगढीमा अवस्था समान्य बन्दै गएपछि नेपाली सेनाले सुरक्षा दिएर राखेका प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहित मन्त्रीहरू व्यारेकबाट फर्किएका छन्। सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएपछि नेपाली सेनाले उनीहरूलाई घर फर्किन आग्रह गरेको थियो ।
सेनाको तेघरीस्थित ब्यारेकबाट फर्किएपछि मुख्यमन्त्री कमलबहादुर शाह र मन्त्रीहरूले क्षतिग्रस्त संरचनाको निरीक्षण भने गरेका छैनन् । तर प्रमुख सचिव डाक्टर कमलप्रसाद पोखरेसहितका सचिव र कर्मचारीहरूले सेवा सञ्चालनका लागि आवश्यक काम गरिरहेका छन्।
पूर्ण रूपमा सेवा सञ्चालन गर्नसक्ने अवस्था नभए पनि तत्काललाई क्षतिग्रस्त संरचनामै एउटै भए पनि कोठा सरसफाइ गर्दै आधारभूत सेवा प्रवाह गरिने मुख्यमन्त्री कार्यालयका प्रवक्ता नवराज ओझाले बताए।
कैलालीमा जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, भन्सार कार्यालय लगायतका संघीय सरकार अन्तर्गतका कार्यालयले भने अत्यावश्यक सेवा आइतबारदेखि सञ्चालनमा ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस्