कञ्चनपुर।बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीको नेतृत्वमा बुधबार बेलौरी बजार क्षेत्रमा अनुगमन गरिएको छ।इलाका प्रहरी कार्यालय बेलौरी, इलाका प्रशासन कार्यालय त्रिभुवनवस्ती, बेलौरी उद्योग वाणिज्य संघ,बेलौरी युथ नेटवर्किङ क्लब लगायत सञ्चारकर्मीहरूको सहभागितामा दिउँसो १ बजेदेखि सुरु भएको अनुगमनमा बजारका विभिन्न पसल र होटलको चेकजाँच गरिएको थियो।
अनुगमनका क्रममा किराना पसल, होटल, फेन्सी पसल, खोका तथा रेस्टुरेन्टमा बिक्री हुने सामग्री निरीक्षण गरिएको थियो।टोलीले अखाद्य वस्तु, म्याद गुज्रिएका सामान र भारतबाट भित्र्याइएका केही प्रतिबन्धित पेय पदार्थ जफत गरेको हो। होटलमा प्रयोग हुने स्वास्थ्यमा हानिकारक रङ (कलर) समेत जफत गरिएको छ।
दर्ता नभएका पसल तथा व्यवसायलाई तोकिएको समयभित्र दर्ता गर्न समेत निर्देशन दिएको नगरपालिकाले जनाएको छ।
बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरा सिंह विष्टले सुदूरपश्चिमेलीहरूको महान पर्व गौरा नजिकिँदै गर्दा खाद्य पदार्थमा मिलावट र भारतिय प्रतिबन्धित पेय पदार्थको बिक्रीबितरण रोक्न, शुद्ध र सुरक्षित खाद्य वस्तुको बिक्री सुनिश्चित गर्न अनुगमन गरिएको बताए।
उनले नगरपालिकासँगै संघको पनि सक्रिय समन्वय रहेको उल्लेख गर्दै व्यवसायीहरूलाई अखाद्य वस्तुको बिक्री नगर्न आग्रह गरे।
नगर उपप्रमुख चौधरीले बजारमा अखाद्य वस्तु बिक्री भइरहेको खबरपछि व्यापारीलाई सजग गराउन अनुगमन गरिएको बताए।
उनले २०७९ मा निर्वाचित भएलगत्तै कालो पोलिथिन बन्द गरिए पनि बजारमा अझै प्रयोग भइरहेको जनाउँदै, यसपटक म्याद गुज्रिएका सामान र प्रतिबन्धित पेय पदार्थ जफत गरिएको जानकारी दिए।
अर्को अनुगमनमा कानुनअनुसार कारबाही गर्ने चेतावनी दिँदै, एक वर्षमा कम्तीमा चार पटक अनुगमन गरिने बताए। बेलौरी युथ नेटवर्किङ क्लबका अध्यक्ष केशव बोहराले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई सुर्तिजन्य, मदिराजन्य तथा गुटखा जन्य पदार्थ नबेच्न व्यापारीलाई सचेत गराइएको जानकारी दिए।
उनले बालबालिकालाई यस्ता पदार्थबाट रोक्न, खेलकुदतर्फ आकर्षित गर्न र खेलाडी उत्पादन गर्न अभियान सञ्चालन गर्ने लक्ष्य रहेको बताए।महिनामा कम्तीमा एक पटक अनुगमन गर्नुपर्ने सुझाव पनि दिए।
अनुगमन टोलीमा उपप्रमुख चौधरी, इलाका प्रशासन कार्यालय त्रिभुवनवस्तीका नायब सुब्बा दिपेन्द्र प्रसाद जैसी, बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरा सिंह विष्ट, नगरपालिकाका कर्मचारी, इलाका प्रहरी कार्यालयका प्रहरी, सञ्चारकर्मीहरू तथा बेलौरी युथ नेटवर्किङ क्लबका अध्यक्ष केशब बोहरा र सचिव भुपेस पाण्डेको पनि उपस्थिति रहेको थियो।
नगरपालिकाले यस्ता अनुगमनलाई निरन्तरता दिँदै उपभोक्ताको हक अधिकारको संरक्षणमा सक्रिय रहने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया दिनुहोस्