नेकपा संसदीय दलको बैठक बस्दै, आजै पारित होला बजेट ?

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ का लागि बजेट प्रस्तुत गरेलगत्तै सत्तारूढ गठबन्धनभित्रै असन्तुष्टि चुलिएको छ। आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले आइतबार प्रदेशसभामा बजेट प्रस्तुत गरेपछि सरकारकै मन्त्री र सत्तारूढ दलका सांसदहरूले त्यसप्रति असन्तुष्टि जनाएका हुन्।

सरकारको नेतृत्व गरिरहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्रै बजेटको तीव्र आलोचना भएपछि आज बिहान संसदीय दलको बैठक बोलाइएको छ।
बिहान ८ बजे संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको नेकपाका सांसद मानबहादुर धामीले जानकारी दिए।

सांसदहरूले आवश्यकता र प्राथमिकताभन्दा कार्यकर्ता तथा पहुँचका आधारमा योजना छनोट गरिएको, साना तथा टुक्रे योजनामा बजेट छरिएको र प्रदेशका प्रमुख विकासका क्षेत्रले पर्याप्त प्राथमिकता नपाएको भन्दै असन्तुष्टि जनाएका छन्।

सरकारले यसअघि आइतबार नै बजेट पारित गर्ने तयारी गरेको थियो। तर, सत्तारूढ दलकै सांसद र मन्त्रीहरू असन्तुष्ट भएपछि प्रदेशसभाको बैठक आज बिहान ९ बजेसम्मका लागि सारिएको थियो। अहिले पनि केही सांसद र मन्त्री बजेटलाई यथास्थितिमा पारित गर्न नहुने पक्षमा छन्।

‘हामीले बजेट ठीक आएको छैन भनिरहेका छौँ। अब बैठकले के निर्णय गर्छ, हेरौँ,’ पूर्वमन्त्रीसमेत रहेका सांसद धामीले भने।

मुख्यमन्त्री खगराज भट्टनिकट स्रोतका अनुसार बिहान ८ बजे बस्ने संसदीय दलको बैठकबाट निष्कर्ष निकालेर ९ बजे प्रदेशसभामा बजेट पारित गर्ने सरकारको तयारी छ। यद्यपि, सांसदहरूले बजेट पारित गर्न नसकिने अडान लिएमा प्रक्रिया थप लम्बिन सक्ने स्रोतको भनाइ छ।

यसअघि असार १ गते तत्कालीन कांग्रेस नेतृत्वको सरकारले प्रस्तुत गरेको बजेटप्रति सत्तारूढ गठबन्धनमै रहेको नेकपा एमालेले असन्तुष्टि जनाएको थियो। बजेटमा बेथिति भएको भन्दै विरोध चर्किएपछि तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेका थिए। त्यसपछि नयाँ राजनीतिक समीकरण बनेसँगै प्रदेश सरकार परिवर्तन भएको थियो। तर, नयाँ सरकारले ल्याएको बजेटप्रति पनि असन्तुष्टि देखिएपछि बजेट निर्माणको शैली र योजना छनोट प्रक्रियामाथि पुनः प्रश्न उठेको छ।

आर्थिक मामिलामन्त्री मल्लले आइतबार साँझ ४ बजे ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। तत्कालीन अर्थमन्त्री विक्रमसिंह धामीले प्रस्तुत गरेको बजेटको विकल्पका रूपमा नयाँ सरकारले नयाँ बजेट ल्याए पनि त्यसमा सुधार नभएको सत्तारूढ गठबन्धनका एक सांसदले बताए।

‘आइतबार अर्थमन्त्रीले बजेट वक्तव्य प्रस्तुत गर्नुभयो। त्यसलगत्तै मन्त्रालयगत बजेटको विवरण पनि आयो। तर, पहिलेको भन्दा झन् खराब बजेट आएको छ,’ ती सांसदले भने, ‘कार्यकर्तामुखी र पहुँचवालाकेन्द्रित बजेट आएको छ।’

उनका अनुसार अघिल्लो बजेटमा जस्तै यसपटक पनि प्राथमिकताका आधारमा योजना छनोट हुन सकेको छैन। सांसदहरूले प्राथमिकताका आधारमा योजना छनोट गर्न सुझाव दिए पनि अधिकांश योजना बजेटमा नसमेटिएको र समेटिएका योजनामा समेत पर्याप्त रकम विनियोजन नभएको उनको भनाइ छ।

‘हामीलाई प्राथमिकताका आधारमा योजना ल्याउन भनिएको थियो। तर, अहिले तीमध्ये अधिकांश योजना परेका छैनन्। परेका योजनामा पनि पर्याप्त बजेट छैन,’ उनले भने।

अघिल्लो बजेट निर्माणमा पनि प्रदेशका अर्थसचिव राजेन्द्र हमालको भूमिका रहेको र सरुवा भइसकेपछि पनि रमाना नबुझेकाले यसपटकको बजेट निर्माणमा समेत उनी संलग्न रहेको सांसदहरूको आरोप छ। उनीहरूले बजेट निर्माण प्रक्रियामा पारदर्शिता र जवाफदेहिताको अभाव रहेको भन्दै प्रश्न उठाएका छन्।

अर्थमन्त्री मल्लले बजेट वक्तव्य प्रस्तुत गरे पनि प्रदेशसभामा त्यसबारे छलफल सुरु भएको छैन। सोमबार बिहान ८ बजेदेखि बजेटमाथि छलफल सुरु गर्ने कार्यसूची रहे पनि बैठक आज बिहान ९ बजेसम्मका लागि सारिएको छ। त्यसअघि बस्ने नेकपा संसदीय दलको बैठकले बजेट पारित गर्ने वा अन्य विकल्पको विषयमा निर्णय गर्नेछ। आजै बजेट पारित हुने वा प्रक्रिया थप लम्बिने भन्ने विषय संसदीय दलको बैठकको निर्णयमा निर्भर रहने जनाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार