दार्चुला : अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय, दार्चुलाले १५औँ स्थापना दिवस विभिन्न कार्यक्रमसहित मनाएको छ। “संरक्षणमा सामुदायिक सहभागिता जैविक विविधताको दिगो संरक्षण र उपयोगका लागि जनसंलग्नता” भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाएको हो।
अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख विनय कुमारका अनुसार विसं २०६६ असार २८ गते हिमालय क्षेत्रको जैविक विविधताको संरक्षण गर्न जनसमुदायको सहभागितामा स्थापित संरक्षण क्षेत्र एक हजार ९ सय ३ वर्ग मिटर क्षेत्रफलमा संरक्षण क्षेत्र फैलिएको छ।
संरक्षण क्षेत्रको स्थापना उच्च हिमाली जैविक विविधता र दुर्लभ वन्यजन्तु संरक्षणका लागि गरिएको हो। संरक्षण क्षेत्रमा अपि (७,१३२ मिटर), नाम्पा (६,७५७ मिटर), व्याँस (६,५१० मिटर) जस्ता उच्च हिमशृंखलाहरू समेटिएका छन्। यस क्षेत्रमा भारतीय प्लेट र तिब्बती प्लेटको भेट हुने स्थानसमेत पर्दछ। अपि नाम्पा संरक्षण क्षेत्र नेपालकै जैविक विविधता दृष्टिले अत्यन्तै महत्त्वपूर्ण क्षेत्र रहेको छ।
संरक्षण क्षेत्रको व्यवस्थापनमा स्थानीय समुदायको सहभागीता सुनिश्चित गर्न २७ वटा उपभोक्ता समूह, २ वटा उपभोक्ता समिति, १ वटा महिला समूह, युवा समूह, जनप्रतिनिधि, विद्यालय, विद्यार्थी, धार्मिक संस्था आदिको सहभागिता रहँदै आएको छ। जैविक विविधता संरक्षण, वनजन्य स्रोतको दिगो उपयोग, पर्यटन प्रबद्र्धन , वातावरणीय शिक्षा तथा अनुसन्धानमा यस क्षेत्रले योगदान पु¥याउदै आएको छ।
यस क्षेत्रमा ५ वटा उप–भौगोलिक क्षेत्र छन्। सिपसिप, स्यालेगाडा, सेलीनदी, झरनामैला र लत्तिन प्रमुख वन क्षेत्रहरूमा फोेपलसेर, फोलेकसे, झरनामैला, छागरीखेत, खगड्या, लत्तिन, टिनबनिया, टालु बिच्चा, बगडी, स्याउली, मौर, बगडिया, स्याल, डुम्या, गोथी, थार, लत्तिनगाडा आदि पर्छन्।
यस क्षेत्रमा रेडपाण्डा, हिमचितुवा, डाँफे, भालु, च्याङ्ग्रा, कस्तुरी, राँगो, कालिज, ब्वाँसो, स्याल, वन मृग, कुकुर, थार, लालीगुराँस लगायतका वन्यजन्तु पाइन्छन्। भारत तथा चीनसँग सिमाना जोडिएको हुँदा चोरी सिकारी, अवैध वनजन्य स्रोतको तस्करीजस्ता चुनौतीहरू छन्।
प्रमुख कार्यहरूमा वन स्रोतको दिगो उपयोग, जैविक विविधताको संरक्षण, वातावरणीय शिक्षा तथा जनचेतना, पर्यटन प्रवद्र्धन, अनुसन्धान, जनप्रतिनिधिहरूसँग सहकार्य, अनुसन्धानकर्ता र विद्यार्थीहरूलाई अनुसन्धानको वातावरण उपलब्ध गराउने कार्यहरू समावेश छन्।
अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय स्थापना दिवसको उपलक्ष्यमा अपी नाम्पा संरक्षण क्षेत्रमा कार्यरत् ५ जना संरक्षणकर्मीहरुलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो। कार्यालयले आर्थिक वर्ष ८१।८२ मा संरक्षण व्यवस्थापन परिषद् एवं कार्यक्रमहरूको प्रगति प्रतिवेदन सरोकारवालाहरू माझ प्रस्तुत गरेको थियो।
यस आर्थिक वर्षमा संरक्षण अभियानको रूपमा परिषद् पुनर्गठनको कार्यलाई तीव्रता दिएको छ। जस अनुरुप छवटा पालिका अन्तर्गत ३८६ बटर महिला तथा पुरुष टोल कमिटी, १२ वडामा वडा समिति र एकवटा परिषद् सदस्य छनोट गरी बाँकी पुनर्गठनको कार्यहरू अगाडि बढाएको विषयमा प्रमुख झाले बताए।
कार्यक्रममा प्रमुख अतिथि समन्वय समिति दार्चुलाका महादेव बडु कश्यप, बिशिस्ट अतिथिमा महाकाली नगरपालिका उपप्रमुख, तथा प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, सशस्त्र प्रहरी गणका एसपी देवराज जोशी, जिल्ला प्रहरी प्रमुख प्रकाश दाहाल लगायत सरोकारवाला निकाय का प्रमुख र प्रतिनिधि सँगै संरक्षणकर्मी कर्मचारीहरूको उपस्थिति रहेको थियो।
स्थापना दिवस दिवसमा ७ वर्षदेखि कार्यरत नायब सुब्बा तोयराज जोशीको गत वैशाख २० गते असामयिक निधन भएकोले उनको सम्झनामा एक मिनेट मनधारण गर्दै दिगम्बत जोशी आश्रित परिवारलाई दोसल्ला ओढाई सम्मान गरिएको कार्यालय प्रमुख झाले बताए।
दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम, वृक्षारोपण, सरसफाइ, विद्यार्थी सहभागिता, वनजन्य स्रोत संरक्षण तथा जैविक विविधता प्रबद्र्धनमुलुक कार्यक्रमहरू गरिएका थिए।
प्रतिक्रिया दिनुहोस्