धनगढी : कैलालीको धनगढीस्थित दृष्टि फाउन्डेसनले गोदावरी नगरपालिका–२, तेघरीमा वृद्धाश्रम सञ्चालनमा ल्याएको छ। एक विशेष कार्यक्रमका बीच गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले वृद्धाश्रमको उद्घाटन गरे।
फाउन्डेसनकी अध्यक्ष कल्पना भट्टको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख शारदा देवी रोकाया, कैलालीकी सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, धनगढीका निवर्तमान नगर प्रमुख नृप वडलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले राज्यको दायित्वभित्र पर्ने कार्य एक महिलाले स्वयं अग्रसर भई गरिरहेको उल्लेख गर्दै दृष्टि फाउन्डेशनको सामाजिक सेवाप्रति आभार प्रकट गरे। उनले फाउन्डेशनकी अध्यक्षले सरकारको तर्फबाट हुनुपर्ने मानवीय जिम्मेवारी बहन गरिरहेको भन्दै धन्यवाद व्यक्त गरे।
गोदावरी नगरपालिकाले विगतदेखि नै दृष्टि फाउन्डेशनलाई साथ दिँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग जारी राखिने बताए। साथै, उनले अत्तरियामा फाउन्डेशनको लागि उपयुक्त जग्गा व्यवस्थापन गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाए।
नगर प्रमुख भट्टले भने, “पर्खालको अभावका कारण फाउन्डेशनमा रहेका महिलाहरूको सुरक्षामा चुनौती रहेको जानकारी पाएपछि गोदावरी नगरपालिकाले गत वर्ष पाँच लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेर पर्खाल निर्माण गराएको हो।”
उनले थपे, “अब स्थायित्वका लागि ६ महिनाभित्र आवश्यक कानुनी प्रक्रिया पुर्याई जग्गा रेखाङ्कनको काम अघि बढाउनेछु, शर्त केबल यो हो कि कसैको दावी वा आपत्ति नआओस्।” उनले आगामी दिनमा पनि कुनै समस्या परेमा नगरपालिकाको तर्फबाट सक्दो सहयोग गरिने आश्वासन पनि दिए।

कार्यक्रममा बोल्दै उपप्रमुख शारदा देवी रोकायाले सबैले आफ्ना आमाबुबालाई संरक्षण गर्दै सम्हालिरहेको भए वृद्धाश्रम खोल्नुपर्ने अवस्था नै आउँदैनथ्यो भन्ने धारणा राखिन्। उनले सडकमा छाडिएका आमाबुबालाई सम्हाल्दै आएकोमा दृष्टि फाउन्डेशनकी अध्यक्ष भट्टलाई धन्यवाद व्यक्त गरिन्।
यस्तै, कैलालीकी सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले समाजमा आफ्नो कर्तव्य नपुर्याउने छोराछोरीहरू पनि हुने भएकाले यस्ता संस्थाको आवश्यकता अझ बढी महसुस भएको बताइन्। उनले संस्थालाई निरन्तर अघि बढाउन आफूबाट सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन्।

विगत लामो समयदेखि सडक मानवको सेवामा सक्रिय दृष्टि फाउन्डेशनले अत्तरियामै पहिलो पटक वृद्धाश्रम सञ्चालनमा ल्याएको हो। उद्घाटन कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष तथा नगर प्रवक्ता गोपाल दत्त भट्ट, फाउन्डेशनका संरक्षक नृप ओड, युवा नेता लोकराज पान्डेय, आगो, रबिनकान्त पन्तलगायतको सहभागिता थियो। फाउन्डेशनकी सदस्य पवित्रा धिक्त पान्डेयले स्वागत मन्तव्य दिएकी थिइन् भने कार्यक्रम सञ्चारकर्मी शारदा फुलाराले सञ्चालन गरेकी थिइन्।




प्रतिक्रिया दिनुहोस्