बैतडी : बैतडीको पाटन नगरपालिका–८ स्थित सिद्धेश्वर स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ। शनिवार एक औपचारीक कार्यक्रम आयोजना गरि पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको सिद्धेश्वर स्वास्थ्य चौकीका प्रमुख विरबहादुर खातीले जानकारी दिए।
पोषणमैत्री स्वास्थ्य संस्था कार्यान्वयन निर्देशिका २०७९ बमोजिम तोकिएका मापदण्ड र सुचकहरु पुरा भएपछि पौषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको उनले बताए। पोषणमैत्री स्वास्थ्य संस्था घोषणाका १० ओटा अनिवार्य मापदण्ड र १६ ओटा सूचकहरु पूरा भएपछि स्वास्थ्य संस्थालाई पोषणमैत्री घोषणा गर्ने गरिन्छ। पोषणमैत्री स्वास्थ्य संस्था घोषणाका लागि १० ओटा अनिवार्य मापदण्ड पूरा गरेको र १६ ओटा सूचकबाट १५ अंक प्राप्त गरेको हुनुपर्ने पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए।
यो सगै पाटन नगरपालिकाका तीन ओटा स्वास्थ्य संस्था पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भएका छन्। पाटन– १ को सकार स्वास्थ्य चौकी र पाटन– ९ को आधारभूत स्वास्थ्य सेवा केन्द्र टकरे यसअघि नै पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भैसकेका स्वास्थ्य शाखा प्रमुख महराले जानकारी दिए।
स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाअध्यक्ष हरिश बिष्टले पोषणमैत्री वडा घोषणाका लागि योजना बनाएर अघि बढ्ने बताए। “अहिले स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्न सफल भएका छौ। आजै देखी वडालाई पनि पोषणमैत्री वडा घोषणाका लागि सबैले एकजुट भएर लाग्नुपर्छ”, उनले भने।
वडाअध्यक्ष बिष्टको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख गौरी सिंह रावल रहनुभएको थियो। यस्तै विशिष्ट अतिथिमा नगर उपप्रमुख कमलसिंह बोहरा, जिल्ला समन्वय समितिका सदस्य प्रेम सिंह भाट, वडा नम्बर ६ का वडाअध्यक्ष राजेन्द्र बिष्ट, वडा नम्बर ९ का वडाअध्यक्ष कालुसिंह भाट, वडा नम्ब्र १० का वडाअध्यक्ष धनबहादुर कुवँर, स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य निरीक्षक रितेन्द्र बडु रहनुभएको थियो।
प्रतिक्रिया दनुहोस्