अछाम : अछाममा नेपाल विद्युत् प्राधिकरणले घरको लाइन काटिदिएपछि बालबालिकाहरू सडक बत्तीको सहारामा पढ्न बाध्य भएका छन् । बान्नीगढी जयगढ गाउँपालिकामा रहेको दर्ना गाउँमा नेपाल विद्युत् प्राधिकरणले लाइन काटिदिएपछि बालबालिका सडक बत्तीको सहारामा पढ्न बाध्य भएका हुन ।
स्थानीय समितिसँग सम्झौता गरेर विद्युतीकरण गरेको प्राधिकरणले बक्यौता उठ्न नसकेको भन्दै विद्युत् सेवा काटेको छ । जसले गर्दा बिद्युत् लाइन जोडेका करिब ६६५ घरधुरी प्रभावित भएका छन् ।
समितिले हाल विद्युत् प्राधिकरणलाई ४२ लाख रुपैयाँ तिर्न बाकी भएपछि लाइन काटिएको थियो । लाइन जडान गर्नुअघि स्थानीयले आम भेला गरेर समिति निर्माण गरी प्राधिकरणसँग तीन महिने करार सम्झौता गरेका थिए ।
जस अनुसार उपभोक्ताले प्रतियुनिट १५ रुपैयाँ र सेवा शुल्क बाफत थप १ सय रुपैयाँ तिर्ने सम्झौता भएको स्थानीय गोकुल ठकुल्लाले बताए । जसमा प्रतियुनिट १२ रुपैयाँ प्राधिकरण र ३ रुपैयाँ समितिका कर्मचारीको खर्च बेहोर्ने सम्झौता भएको थियो।
यस्तै बत्ती मात्र बाल्ने ग्राहकको हकमा प्रतिमहिना २५० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको थियो । तर विद्युत् प्राधिकरण टीओडी मिटरमा देखिने बिल भन्दा ग्राहकबाट उठ्ने रकम निकै कम हुन थालेपछि समिति घाटामा गएर ४२ लाख रकम तिर्नुपर्ने पुगेपछि प्राधिकरणले लाइन काटेको थियो ।
गाउँमा विद्युत् लाइन काटिए पछि अहिले बालबालिकाहरू सडक किनारमा जोडिएका सोलार बत्तीमुनि पढ्न बाध्य भएको स्थानीय गणेश साउँदले बताए । स्थानीयले समिति भन्दा पनि प्रत्यक्ष रूपमा ग्राहकलाई प्राधिकरणले आफ्नो मातहतमा लिएर विद्युत् वितरण गर्नुपर्ने माग गरेका छन् ।
प्रतिक्रिया दनुहोस्