बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा भएको आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
आइतबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले आगलागी पीडितका लागि ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुढीगंगा नगरपालिकालाई ४० लाख आर्थिक सहयोग गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार आगलागीको थप विवरण प्राप्त भएपश्चात प्रदेश सरकारले थप सहयोगको निर्णय गर्ने जानकारी दिए ।
प्रदेश सरकारको मौज्दातमा रहेका १५ वटा टेन्ट, ३४ वटा कम्बल र ३४ वटा त्रिपाल राहत स्वरुपमा उपलब्ध गराउने पनि जनाएको छ । २३ जेठमा बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा रहेको नवदुर्गा होटलमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको थियो । आगलागी हुँदा ३१ पसल पूर्ण रूपमा क्षति भएका थिए भने सात पसलमा आंशिक क्षति भएको थियो ।
आगलागीबाट बजार नै ध्वस्त हुँदा करिब १५ करोडभन्दा बढी क्षति भएको बताइएको छ । राहत वितरणका लागि बुढीगंगा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गठन समेत गरिएको छ ।
प्रतिक्रिया दनुहोस्