काठमाडौँ : हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको इजरायली मिडियाले संकेत गरेको छ । इजरालयको अखबार टाइम्स अफ इजरायलले आफ्नो समाचारमा हमासको बन्धक सूचीमा एक जना नेपाली रहेको उल्लेख गरेको छ ।
टाइम्स अफ इजरयालले विपिनको नाम नलिए पनि एक नेपाली भनेको छ । जसको अर्थ उनी नै हुन् भन्ने हुन्छ । विपिन बाहेक अन्य नेपाली हमासको कब्जामा छैनन् ।
समाचारमा हमासको बन्धकको सूचीमा एक नेपालीसहित ८ थाई र एक तान्जानियाका रहेको भनिएको छ । साथै दुई जना थाई नागरिकको ज्यान गएको पुष्टि भएको पनि समाचारमा उल्लेख छ ।
इजरायली मिडियाले विपिन हमासको कब्जामा जीवितै रहेको संकेत गरे पनि तत्काल रिहा हुने लिस्टमा भने उनको नाम समावेश नभएको पनि उल्लेख गरेको छ । बिहीबार रिहा हुने बन्धकहरूको सूचीमा विपिनको नाम समावेश छैन ।
यसैबीच रिहाइको माग गर्दै बन्धकका परिवारले सार्वजनिक गरेको ९७ जनाको सूचीको ५८औं नम्बरमा जोशीको नाम पनि रहेको पाइएको छ । सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा हमला गरेको हमासले २५१ जनालाई बन्धक बनाएको थियो । उनीहरूमध्ये १५७ जना रिहा भइसकेका हुन् । सट्टामा इजरायलले २०० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ ।
सन् २०२३ को २४ नोभेम्बरदेखि ३० नोभेम्बरसम्म भएको युद्धविरामका क्रममा हमासले १०९ जना बन्धक रिहा गरेको थियो ।
जसमध्ये आठजना बन्धकको इजरायली सेनाले उद्धार गरेको थियो । हमासको नियन्त्रणमा रहेकामध्ये ३७ जना बन्धक मृत फेला परिसकेका छन् । इजरायली सेनाको आक्रमणमा परेर ती बन्धकको मृत्यु भएको जनाइएको छ । अहिले हमासको नियन्त्रणमा ९४ जना रहेको बताइएको छ ।
इजरायल सरकारका अनुसार यी ९४ जनामध्ये ३४ जनाको मृत्यु भइसकेको छ । ६० जनामात्र जीवितै हमासको नियन्त्रणमा छन् । हमासले मृतकको शरीर पनि कब्जामा राखेको छ ।
हमासले थप ८ बन्दी रिहा गर्दै
प्यालेस्टिनी विद्रोही समूह हमासले बिहीबार थप आठ जना बन्दी रिहा गर्दैछ । हमासले युद्धविराम सम्झौताअन्तर्गत अन्य तीन जना इजरायली बन्दी र पाँच जना थाई बन्दीलाई रिहा गर्न लागेको इजरायलले जनाएको छ । हमासले रिहाइ गर्न लागेकोहरू इजरायली सेना हुन् ।
यो पछिल्लो गाजा युद्धविराम सम्झौताको तेस्रो चरणको बन्धक रिहाइ हुन लागेको हो । सम्झौताअनुसार इजरायली बन्धकहरूको रिहाइको बदलामा इजरायलले ११० प्यालेस्टाइनीहरूलाई इजरायली जेलबाट मुक्त गर्नुपर्नेछ । हालसम्म हमासले बन्धक बनाएका १५७ जना रिहा भइसकेका छन् ।
थाई बन्धकहरूको रिहाइ हमासको एकपक्षीय कदम रहेको र यो सम्झौताको हिस्सा नभएको इजरायलको भनाइ छ । थाई बन्धकहरू कृषि मजदुर हुन् । उनीहरुलाई इजरायलबाट अपहरण गरिएको थियो । थाइल्याण्डको सरकारले गाजामा आफ्ना ६ जना नागरिक अझै पनि बन्धकमा रहेको जनाएको छ ।
प्रतिक्रिया दनुहोस्