काठमाडौं : भारत महाराष्ट्रको भएको रेल दुर्घटनामा परी ७ नेपालीको मृत्यु भएको छ । बुधबार जलगाउँ जिल्लाको पारधाडे तालुका पाचोरामा भएको रेल दुर्घटनामा ज्यान गुमाउने १३ मध्ये ७ जना नेपाली रहेको खुलेको हो ।
मृतकमध्ये ४ जना अछामका र एक जना कैलालीका छन् भने दुईको ठेगाना खुलिसकेको छैन । अछामको पञ्चदेवल विनायक नगपालिका-४ का नन्दाराम विक, उनकी श्रीमती मैसरा र छोरा हिमु तथा कलबजार नगरपालिका-४ चाल्साकी ६० वर्षीया जयकला कामी दुर्घटनामा मृत्यु भएको छ ।
कैलालीको मोहन्याल गाउँपालिका-६ सोल्टाकी ४३ वर्षीया कमला भण्डारी छिन् । यस्तै, डुडुवा, बाँकेका राधेश्याम राध र नारायणपुर मात्र ठेगाना खुलेका लच्छिराम पासी छन् ।
महाराष्ट्र राज्यस्थित जलगाउँमा बुधबार साँझ लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसमा आगो लागेको हल्लापछि यात्रु रेलबाट हाम फालेका थिए । रेलवे अधिकारीका अनुसार पुष्पक एक्सप्रेसमा सवार यात्रुले रेलको पांग्राबाट धूवाँ निस्किएपछि सम्भावित आगलागीको डरले लिकमै हाम फालेका थिए । त्यस क्रममा विपरीत दिशाबाट तीव्र गतिमा आइरहेको कर्नाटक एक्सप्रेसको रेलले उनीहरूमध्ये धेरैलाई किचेको थियो ।
प्रतिक्रिया दनुहोस्