काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो पीडितलाई प्रत्यक्ष रूपमा राहत पुर्याउनु पार्टीको पहिलो प्राथमिकता रहेको बताएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्दै ओलीले सरकारी कोषमार्फत राहत वितरण गर्दा प्रक्रियागत ढिलाइ हुन सक्ने भएकाले पार्टीले सिधै पीडितसम्म राहत पुर्याउने नीति लिएको बताए।
उनले उद्धार तथा प्रारम्भिक राहतका कामपछि आवश्यकताअनुसार सरकारी कोषमा पनि सहयोग गर्न सकिने बताए। एमालेले पार्टीको सामर्थ्य र कार्यकर्ता परिचालनमार्फत राहत सङ्कलन तथा वितरण गरिरहेको उनले जानकारी दिए।
ओलीका अनुसार पार्टीले प्रारम्भिक रूपमा करिब १ करोड २० लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी राहत वितरण गर्ने लक्ष्य राखेको छ। राहतको कुल परिमाण भने लक्ष्यभन्दा बढी हुने उनले बताए।
महाविपद्को समयमा एआईबाट कृत्रिम तस्वीर तथा दृश्य बनाएर प्रचार गर्ने प्रवृत्तिको आलोचना गर्दै ओलीले विपद्का बेला प्रचारमुखी नभई सेवामुखी बन्न सबैलाई आग्रह गरे। उद्धार, राहत र पुनर्स्थापनामा सबैको ध्यान केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।




प्रतिक्रिया दिनुहोस्