धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भोटेकोशी बाढीमा परी बेपत्ता भएका नागरिकको खोजी तथा उद्धारलाई प्रभावकारी बनाउन प्रदेश सरकारले सबै सम्भावित प्रयास गरिरहेको बताएका छन्।
बेपत्ता आफन्तको खोजी र उद्धारको माग गर्दै बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका पीडित परिवारका सदस्यहरूसँग भेट गर्दै मुख्यमन्त्री भट्टले खोजी कार्यमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका हुन्।
उनले बेपत्ता नागरिकको अवस्था पत्ता लगाउन उपलब्ध सबै स्रोत, साधन र उपाय परिचालन गरिने बताए। खोजी तथा उद्धारका लागि संघीय सरकारसँग समेत आवश्यक समन्वय भइरहेको उनको भनाइ छ।
पीडित परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले उनीहरूलाई संकटको समयमा एक्लो महसुस हुन नदिने बताए।
बेपत्ता नागरिकको खोजी तथा उनीहरूका आफन्तसँग आवश्यक समन्वय गर्न प्रदेश सरकारले हटलाइन सेवा समेत सञ्चालनमा ल्याएको छ। मुख्यमन्त्री भट्टले विपद्को यस कठिन अवस्थामा प्रदेश सरकार नागरिकको साथमा रहेको दोहोर्याउँदै पीडित परिवारलाई आवश्यक सहयोग निरन्तर उपलब्ध गराउने बताए।




प्रतिक्रिया दिनुहोस्