धनगढी: नेपाल–चीन सीमा क्षेत्रअन्तर्गत भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित बनेका नागरिकहरूको उद्धार तथा राहतका लागि कैलाली उद्योग वाणिज्य संघले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
संघका पदाधिकारी तथा कार्यसमितिको आज बसेको बैठकले विपद्को यस कठिन घडीमा पीडितहरूलाई सहयोग गर्नु सबैको साझा मानवीय दायित्व भएको निष्कर्ष निकाल्दै सरकारी राहत कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो। बैठकले भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा प्रभावितहरूको शीघ्र उद्धार, उपचार र राहतका लागि सम्बन्धित सबै पक्षलाई हार्दिक अपिलसमेत गरेको छ।
साथै, सोही विपद्मा परेका सुदूरपश्चिमका पीडित तथा ज्यान गुमाउनु भएका परिवारलाई प्राथमिकतामा राखेर राहत सहयोग प्रदान गर्ने संघले महत्वपूर्ण निर्णय गरेको छ। सरकारी निकाय वा प्रशासनबाट आधिकारिक र वास्तविक तथ्यांक प्राप्त हुनासाथ सुदूरपश्चिमबाट बाढीमा परेका र आफ्नो सहारा गुमाएका विपन्न परिवारहरूलाई लक्षित गरेर राहत उपलब्ध गराउने प्रतिबद्धता बैठकले जनाएको छ।
विपद्को यस विषम परिस्थितिमा तीनै तहका सरकार, सुरक्षा निकाय, व्यवसायी, सामाजिक संघसंस्था र नागरिक समाजलाई आआफ्नो तर्फबाट खोज, उद्धार, राहत वितरण तथा पुनस्स्थापनाको कार्यमा सक्रियतापूर्वक जुट्न संघले आग्रह गरेको छ।




प्रतिक्रिया दिनुहोस्