महाकाली प्रादेशिक अस्पतालले टिकट शुल्क दोब्बर बढायो

धनगढीः कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले ओपिडी तथा आकस्मिक सेवाको टिकट शुल्क दोब्बर बनाएपछि सेवाग्राहीबाट असन्तुष्टि व्यक्त हुन थालेको छ।

सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत सञ्चालित अस्पतालले आर्थिक वर्ष २०८२/८३ को जेठ महिनादेखि नयाँ शुल्क लागू गरेको हो। नयाँ व्यवस्थाअनुसार ओपिडी टिकटको शुल्क २५ रुपैयाँबाट बढाएर ५० रुपैयाँ र आकस्मिक सेवाको टिकट ५० रुपैयाँबाट बढाएर १०० रुपैयाँ पुर्‍याइएको छ।

शुल्क वृद्धिपछि सरकारी अस्पतालमै उपचारका लागि आउने सर्वसाधारण, विशेषगरी आर्थिक रूपमा कमजोर बिरामीमाथि थप भार परेको भन्दै सेवाग्राहीहरूले विरोध जनाएका छन्।

सेवाग्राही सम्राट विष्टले टिकट शुल्क वृद्धि रकमका हिसाबले धेरै ठूलो नभए पनि यसले भविष्यमा अन्य स्वास्थ्य सेवाको शुल्कसमेत बढ्ने चिन्ता व्यक्त गरे। अर्का सेवाग्राही पवन जोशीले नयाँ अस्पताल व्यवस्थापन समिति आएपछि शुल्क वृद्धि गरिएको उल्लेख गर्दै सरकारी अस्पतालमा उपचार खोज्ने विपन्न नागरिकलाई यसले थप समस्या पर्ने बताए।

स्थानीय मोहनदेव भट्टले निर्वाचनका बेला निःशुल्क स्वास्थ्य सेवाको प्रतिबद्धता जनाइए पनि व्यवहारमा उल्टै शुल्क बढाइएको भन्दै अस्पतालका आधारभूत सेवा निःशुल्क बनाउन पहल गर्नुपर्ने धारणा राखे।

यता अस्पताल प्रशासनले भने स्वास्थ्य बिमा कार्यक्रममा सहभागी बिरामी र अन्य सेवाग्राहीबीच शुल्कमा समानता कायम गर्न टिकट शुल्क परिमार्जन गरिएको जनाएको छ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश पन्तका अनुसार स्वास्थ्य बिमाबाट ओपिडीमा ५० रुपैयाँ र आकस्मिक सेवामा १०० रुपैयाँ भुक्तानी हुँदै आएको अवस्थामा बिमा सेवाग्राहीबाट समान शुल्कको माग आएपछि नयाँ दर लागू गरिएको हो।

उनले शुल्क वृद्धि भए पनि असहाय, विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकका लागि निःशुल्क र सहुलियत सेवाको व्यवस्था यथावत् रहेको स्पष्ट पारे। उनका अनुसार टिकट काट्नसमेत नसक्ने विपन्न बिरामीलाई आवश्यक प्रक्रिया पूरा गरी पूर्ण रूपमा निःशुल्क सेवा उपलब्ध गराइनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार