कञ्चनपुरः कञ्चनपुरमा भारतबाट भन्सार छलेर अवैध रूपमा इलेक्ट्रिक स्कुटर भित्र्याउने क्रम बढेपछि सुरक्षा निकाय र भन्सार प्रशासनले निगरानी तथा नियन्त्रण अभियानलाई तीव्र बनाएका छन्।
प्रहरीका अनुसार पछिल्लो एक महिनामै भन्सार प्रक्रिया पूरा नगरी नेपाल ल्याइएका तथा दर्ताविना सञ्चालनमा रहेका १२ वटा इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिई कञ्चनपुर भन्सार कार्यालयमा बुझाइएको छ। खुला सीमा नाकाको दुरुपयोग गर्दै अवैध रूपमा स्कुटर भित्र्याउने गतिविधि बढेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा कडाइ थालेका हुन्।
कञ्चनपुर भन्सार कार्यालयका भन्सार अधिकृत चक्रदेव भट्टले भन्सार राजस्व छल्ने उद्देश्यले स्कुटर आयात गर्नु कानुनविपरीत भएको बताए। उनका अनुसार बरामद भएका स्कुटर आवश्यक कानुनी प्रक्रिया पूरा गरी लिलाम गरिनेछ भने भविष्यमा यस्ता गतिविधि रोक्न सुरक्षा निकायसँग समन्वय गरी निगरानी अझ प्रभावकारी बनाइएको छ।
भन्सार कार्यालयका अनुसार पछिल्लो १० वर्षमा कञ्चनपुरबाट करिब पाँच हजार इलेक्ट्रिक स्कुटर आयात भएका छन्। यसबीच दर्ता नभएका स्कुटरको व्यवस्थापनका विषयमा सम्बन्धित निकायबीच छलफल भइरहेको पनि कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले भन्सार नतिरी भित्र्याइएका र दर्ताविना सञ्चालन गरिएका इलेक्ट्रिक स्कुटरमाथि विशेष निगरानी गरिएको बताए। उनका अनुसार यस्ता सवारी साधनले कानुनी जटिलतासँगै सडक दुर्घटनाको जोखिमसमेत बढाउने भएकाले सबै स्कुटरलाई कानुनी दायरामा ल्याउने अभियान सञ्चालन गरिएको छ।
नेपालमा विद्युतीय दुईपाङ्ग्रे सवारीको प्रयोग बढ्दै गए पनि कञ्चनपुरमा भारतीय बजारबाट खरिद गरी अवैध रूपमा भित्र्याइएका स्कुटरको संख्या बढ्दा यसको नियमन चुनौतीपूर्ण बन्दै गएको छ। त्यसैले स्थानीय प्रशासनले सीमाक्षेत्रमा निगरानी थप कडा बनाएको जनाएको छ।




प्रतिक्रिया दिनुहोस्