धनगढीः सेती प्रादेशिक अस्पतालले अस्पतालमा कार्यरत चिकित्सकहरूलाई कार्यालय समयभित्र निजी क्लिनिक वा अन्य स्वास्थ्य संस्थामा सेवा दिन नपाइने स्पष्ट निर्देशन दिएको छ।
अस्पताल प्रशासनले मंगलबार सूचना जारी गर्दै केही चिकित्सकहरू कार्यालय समयकै अवधिमा बाह्य निजी स्वास्थ्य संस्थामा कार्यरत रहेको गुनासो प्राप्त भएपछि यस्तो निर्णय गरिएको जनाएको हो।
सूचनाअनुसार अस्पतालको नियमित सेवा प्रभावकारी, गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउन सबै चिकित्सकलाई कार्यालय समयमा आफ्नै कार्यस्थलमा उपस्थित भई तोकिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिइएको छ।
प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले जारी गरेको सूचनामा कार्यालय समयभित्र निजी क्लिनिक वा अन्य स्वास्थ्य संस्थामा संलग्न भएको पुष्टि भएमा सम्बन्धित चिकित्सकविरुद्ध प्रचलित कानून तथा सेवा–शर्तअनुसार आवश्यक कारबाही गरिने उल्लेख गरिएको छ।
अस्पताल प्रशासनले सेवाग्राहीले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण सुनिश्चित गर्न कार्यालय समयको पूर्ण पालना गर्न चिकित्सकहरूलाई आग्रह गरेको छ।




प्रतिक्रिया दिनुहोस्