काठमाडौं । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले उपसभामुख रबीकुमारीको आलोचना गरेका छन्। उपसभामुख ठाकुरले पदमा पुगेपछि पार्टीको योगदानलाई सम्मान गर्न नसकेको आरोप लगाए।
हालै पार्टीको एक कार्यक्रममा बोल्दै उनले भने, ‘कहाँको मान्छेलाई जिताएर आँसु पसिना बगाएर श्रमदाताले लिएर आए, नेपाली नागरिकले भोट हाले, पदमा पुगेपछि त पाँच जना पार्टीले सिफारिस गरेको कर्मचारी पनि आर्मी लगाएर निकाल्ने अनि त्यस्तो रुबी चाहिँदैन।’
श्रम संस्कृति पार्टीकै काँधमा चढेर विभिन्न सार्वजनिक पदमा पुगेका नेताहरूले पार्टीको सिद्धान्त र नीतिअनुसार काम गर्नुपर्ने उनको भनाइ छ।
उनले थपे, ‘यो श्रम संस्कृति पार्टीको काँधमा चढेर मेयर, सांसद, मन्त्री, मुख्यमन्त्री हुने अनि गएर रुबी हुनेरु यो भनेको पार्टीको स्पष्ट अनुशासन पनि हुनुपर्छ। त्यो विचार हुनुपर्छ। त्यो लयमा हामी हिँड्नुपर्छ। १०० थरी बाजा एउटै धुन, १०० थरी गोला एउटै चाल। जो जता हिँडे पनि हुने, जसलाई जे मन लाग्छ त्यही गर्दा हुनेरु अब यो पार्टी त्यो चल्दैन, विधि चाहिन्छ।’
पार्टी संस्थागत रूपमा चल्न नसके संसारको कुनै पनि शक्तिले जोगाउन नसक्ने उनको भनाइ छ।
उनले भने, ‘पशुपतिमा पूजा गर्ने पनि त नियम हुन्छ। एउटा शौचालयमा मान्छे जाँदा पनि पालोले जाने नियम हुन्छ? यो पार्टी यो पार्टी देश बनाउने पार्टी हो। तर तीनवटा सर्त हामीले अहिले छोड्नुहुँदैन। पहिलो, एक नम्बरको पार्टी बनाउने, दोस्रो, अध्यक्षलाई प्रधानमन्त्री बनाउने र तेस्रो, सर्वमान्य नेता बनाउने सर्तमा यो पार्टी संस्थागत र प्रणालीमा चल्नैपर्छ। संस्थागत र प्रणालीमा चलिएन भने यो तीनवटै काम हुँदैन। गाह्रो हुन्छ।’
उनले पार्टी अध्यक्षले बोलेको कुरा एउटा शुभेच्छुकले बोल्नुपर्ने उनको भनाइ छ।
‘शुभेच्छुकले आफ्नो हिसाबले मनपरी बोल्न पाइँदैन। पार्टीको लाइन बोल्नुपर्छ। शुभेच्छुक भनेको सदस्य समान हो। शुभेच्छुकले नि बोल्छ। त्यसकारणले त्यो लाइन हामीले बनाउनुपर्छ। त्यसको निम्ति प्रणाली हामीलाई चाहिन्छ’ उनले भनेका छन्, ‘हामी यस्तो प्रणाली बनाऔँ, यस्तो पार्टी बनाऔँ अर्काले पनि हामीलाई डाह गरोस्।’
अरूभन्दा सम्पूर्ण रूपले आकर्षित हुने पार्टी बनाउनको लागि पहिला विचार, प्रणाली र व्यवहार स्पष्ट हुनुपर्ने बताएका छन्।




प्रतिक्रिया दिनुहोस्