सर्लाही — सर्लाही प्रहरीले १०९ किलो गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर र इलाका प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीले लालबन्दी नगरपालिका–१ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि पूर्व–पश्चिम राजमार्गमा सवारी जाँच गर्ने क्रममा भारतीय नम्बर प्लेटको बीआर ०९ एम ३७६६ नम्बरको कार रोकेको थियो।
कारको डिक्कीमा लुकाएर राखिएको २३ वटा पोकाभित्र करिब १०९ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको तौल प्लास्टिकसहितको रहेको बताइएको छ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, सितामढी जिल्ला, समुद्र थाना क्षेत्रका २६ वर्षीय दीपककुमार महतो र २५ वर्षीय अमनकुमार रहेका छन्। महतो कार चालक रहेको तथा अमन सहयात्रीका रूपमा कारमा सवार रहेको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद गाँजा, प्रयोग गरिएको कार तथा दुवै पक्राउ परेका व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ। गाँजा कहाँबाट ल्याइएको थियो र कहाँ पुर्याउने योजना थियो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्