काठमाडौं– नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद विभाजनउन्मुख बनेको छ ।
इतर पक्षले राष्ट्रिय कार्यकर्ता भेला बोलाएर संगठनात्मक र नीतिगत तयारी अघि बढाएपछि नयाँ पार्टी गठनको चर्चा चुलिएको छ ।
तर, नेता विमलेन्द्र निधिले २९ साउनको भेलाले मात्रै अन्तिम निर्णय गर्ने बताएका छन् ।
निधिले भने, ‘सर्वोच्च अदालतबाट देउवालाई सभापतिको मान्यता कायम रहेन भने नयाँ कार्यदिशा वा नयाँ स्वरूपको विकल्प आउन सक्छ । अहिले नै नयाँ पार्टीबारे निष्कर्ष निकाल्न सकिँदैन ।’
उनले ‘राष्ट्रिय कांग्रेस’ नाम र ‘शंख’ चुनाव चिह्नको चर्चा पूर्ण रूपमा गलत सूचना भएको बताए ।
साथै, डा.शशांक कोइरालालाई समूहको नेता घोषणा गरिएको जानकारी दिए ।
उता कांग्रेस महामन्त्री गुरुराज घिमिरेले पार्टी विभाजनभन्दा एकतालाई प्राथमिकता दिएको बताए ।
उनले भने, ‘उहाँहरूको भेलाबारे जानकार छौँ, तर हाम्रो प्राथमिकता अन्तिमसम्म पार्टीलाई एकताबद्ध राख्ने नै हो ।’
घिमिरेका अनुसार विशेष महाधिवेशनलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले वैधानिकता दिइसकेको छ र अहिले १५औँ महाधिवेशन समयमै सम्पन्न गर्ने तयारी भइरहेको छ ।
उनले इतर पक्षलाई संवाद र सहमतिका लागि आह्वान गर्दै व्यक्ति होइन, विधान सर्वोच्च हुनुपर्छ भन्ने धारणा दोहोर्याए ।
दुवै पक्षले संवादको कुरा गरे पनि नेतृत्व, वैधानिकता र आगामी महाधिवेशनको स्वरूपमा सहमति जुट्न नसक्दा कांग्रेसभित्रको संकट अझै गहिरिँदै गएको देखिएको छ ।




प्रतिक्रिया दिनुहोस्