काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुनसरीको देवानगन्ज घटनालाई समाधान गर्न प्रधानमन्त्री वालेन्द्र शाहले पहलकदमी लिइरहेको जानकारी दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेद्वारा आज सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा सरकारको तर्फबाट धारणा राख्दै उनले सुनसरीमा उत्पन्न परिस्थितिलाई समाधान गर्न प्रधानमन्त्री गम्भीर हुनुहुन्छ र पहलकदमी लिइरहेका छन् भने ।
‘सुनसरीमा सामाजिक एकता, सद्भाव कायम गर्न, सुरक्षा प्रबन्ध चुस्त राख्न, दुःखद् घटनाका पीडित परिवारलाई क्षतिपूर्ति तथा घाइतेको उपचारलगायतका विषयमा प्रधानमन्त्रीज्यू अत्यन्तै गम्भीर हुनुहुन्छ’, अर्थमन्त्री डा वाग्लेले भने, ‘प्रधानमन्त्रीज्यूकै समन्वयमा सरकारले यथेष्ट पहल लिइरहेको छ । प्रयासका काम अहोरात्र भइरहेका छन् । राजनीतिक दलहरूले घटनालाई समाधान गर्न लिएको अग्रसरतालाई सरकारले सकारात्मक रूपमा लिएको छ ।’
अर्थमन्त्री डा वाग्लेले सुनसरी घटनालाई सामान्यीकरण गर्न र सुरक्षा व्यवस्थाको प्रत्याभूति गर्न सरकारले आवश्यक समन्वयमा प्रयत्न गरिरहेको पनि राजनीतिक दलका शीर्ष नेताहरूलाई बैठकमा जानकारी गराए ।
सर्वदलीय बैठकमा उठेका चासो र विषयका बारेमा प्रधानमन्त्रीलाई अवगत गराउने जनाउँदै उनले सबैको साझा प्रयत्नमा समाधान खोजिनुपर्नेमा जोड दिए ।




प्रतिक्रिया दिनुहोस्