काठमाडौं- राजधानीको कुलेश्वर क्षेत्र आज दिउँसो एकाएक तनावपूर्ण बनेको छ। लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा चलाएको गोली प्रहारबाट एक भारतीय नागरिक घाइते भएका छन्।
लागुऔषधको ठूलो कारोबार भइरहेको सूचनाका आधारमा सादा पोसाकमा खटिएको ब्यूरोको टोलीले कुलेश्वर पुल नजिकै शंकास्पद व्यक्तिहरूलाई घेरा हालेको थियो। प्रहरी टोलीलाई देखेपछि भाग्ने प्रयास गरेका कारोबारीहरूलाई नियन्त्रणमा लिन इन्स्पेक्टर राकेश यादवको नेतृत्वमा खटिएको टोलीले दुई राउण्ड गोली चलाएको थियो।
विशेष कारबाही
ब्यूरोका एसएसपी सुवासचन्द्र बोहोराका अनुसार पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक छन्। कारबाहीका क्रममा गोली लागेर भारतीय नागरिकको देब्रे खुट्टामा चोट लागेको छ। प्रहरीले उनीहरूको साथबाट ठूलो परिमाणमा औषधीजन्य लागुऔषध बरामद गरेको जनाएको छ।
गोली लागेर घाइते भएका भारतीय नागरिकलाई उपचारका लागि अस्पताल लगिएको छ। घटना लगत्तै कुलेश्वर क्षेत्रमा थप सुरक्षा सतर्कता बढाइएको छ भने पक्राउ परेका दुवै व्यक्तिमाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्