जनताले विश्वास दिन्छन् तर काम नभए विश्वास फिर्ता लिन पनि सक्छन् : रघुवीर महासेठ

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले प्रतिपक्षलाई पेलेर अघि बढ्ने सरकार धेरै समय नटिक्ने दाबी गरेका छन्।

वर्तमान सरकार गठन भएको चार महिना पुग्न लाग्दा पनि प्रभावकारी काम हुन नसकेको संकेत गर्दै महासेठले सबै दललाई मिलाएर लैजानुपर्नेमा जोड दिए। ‘लोकतान्त्रिक सरकार भनेको प्रतिपक्षसँग सहकार्य गर्दै अघि बढ्ने सरकार हो । यदि सरकारले प्रतिपक्षलाई बेवास्ता गरेर वा दबाएर अघि बढ्ने सोच राख्छ भने त्यो दीर्घकालीन रूपमा सफल हुन सक्दैन,’ उपमहासचिव महासेठले भने।

उनले थपे, ‘देश कुनै पार्टीको निजी सम्पत्ति होइन, सार्वभौमसत्ता जनतामा निहित छ । त्यसैले सरकारले सबै दलसँग सहकार्य गर्दै जनहितलाई प्राथमिकतामा राख्नुपर्छ।’

उपमहासचिव महासेठले सरकारले शिक्षा, स्वास्थ्य र घरजग्गा कारोबारमा लगाएको नयाँ करको चर्को आलोचना गरेका छन् । साउन १ गतेदेखि लागू हुने गरी जग्गा खरिद–बिक्रीमा दुवै पक्षले कर तिर्नुपर्ने व्यवस्था र शिक्षा तथा स्वास्थ्यमा थपिएको करको भारले सर्वसाधारण मारमा परेको उनको दाबी छ।

जनताको आधारभूत आवश्यकतामा आर्थिक बोझ थप्नु न्यायोचित नभएको भन्दै उनले यस्ता निर्णयमा तत्काल पुनर्विचार गरी जनताको हितलाई केन्द्रमा राख्न सरकारसँग माग गरे। मधेश प्रदेशमा रास्वपाले पाएको जनमतबारे टिप्पणी गर्दै महासेठले मधेसी जनताले विश्वास गरेर पठाएकाले रास्वपाले पनि मधेशको भावनाअनुकूल काम गर्नुपर्ने बताए।

‘मधेश प्रदेशबाट राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थन पाएको छ । त्यसैले मधेसका जनताको विश्वास र अपेक्षाअनुसार काम गर्नु उहाँहरूको जिम्मेवारी हो,’ उनले भने, ‘जनताले विश्वास दिन्छन्, तर काम नभए त्यो विश्वास फिर्ता लिन पनि सक्छन्।’

महासेठले निजी क्षेत्रलाई मुलुकको अर्थतन्त्रको मेरुदण्डको संज्ञा दिँदै समग्र आर्थिक विकास र रोजगारी सिर्जनामा यसको भूमिका अपरिहार्य रहेको उल्लेख गरे । वर्तमान विश्व अर्थतन्त्रमा देखिएका चुनौती, विशेषगरी इरान–इजरायल द्वन्द्व र बढ्दो महँगीको असर नेपालमा पनि परिरहेको भन्दै उनले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर हुनुपर्ने बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार