विश्वकपमा सहभागी नभएको नेपालले पाउँदैछ १ अर्ब २२ करोड

काठमाडौँ । फिफा विश्वकप २०२६ फुटबल इतिहासकै हालसम्मको सबैभन्दा बढी आम्दानी गर्ने महाकुम्भ बन्दैछ । 

यसपटकको विश्वकपले फिफाले गर्ने गरेको यसअघिका आम्दानीका सबै रेकर्डहरू तोड्ने निश्चित भएको देखिन्छ । ४८ टोलीहरू र १०४ खेलहरू समावेश गरिएको यस विस्तारित ढाँचाका कारण फिफा  र आयोजक राष्ट्रहरूले कीर्तिमानी आम्दानी गर्ने बताइएको छ । 

फिफा मात्र होइन, आयोजक राष्ट्रहरू अमेरिका, क्यानडा, मेक्सिको र तिनका आयोजक सहरहरूले पनि राम्रो कमाई गर्ने पक्का भएको छ । 

आयोजक सहरहरुले सुरक्षा, यातायात र पूर्वाधार विकासमा लगानी गरेपनि त्यसको बदलामा तिनिहरुले पर्यटन, होटेल र स्थानीय व्यापारमार्फत करिब ४१ देखि ८० अर्ब अमेरिकी डलर सम्मको आर्थिक लाभ  भित्र्याउने अनुमान गरिएको छ।

फिफाको आधिकारिक आर्थिक प्रतिवेदन र प्रक्षेपणअनुसार यसका मुख्य कारण र तथ्याङ्कहरू यस प्रकार छन्। 

कुल आम्दानीमा ऐतिहासिक वृद्धि, २०२६ मा कति ?

सन् २०२३ देखि २०२६ को यो चार वर्षे विश्वकप चक्रमा फिफाले कुल १३ अर्ब अमेरिकी डलर आम्दानी गर्ने प्रक्षेपण गरेको छ । अघिल्लो रेकर्डसँग तुलना गर्दा  सन् २०२२ को कतार विश्वकप चक्र (२०१९–२०२२) मा फिफाले ७.५७ अर्ब डलर आम्दानी गरेको थियो ।  

१३ अर्ब डलरमध्ये केवल २०२६ को विश्वकप प्रतियोगिताको अवधि र यससँग प्रत्यक्ष जोडिएका गतिविधिबाट मात्रै करिब ८.९ अर्ब डलर आम्दानी हुने अनुमान छ । 

टेलिभिजन र मिडिया प्रसारण अधिकार आम्दानीको सबैभन्दा ठूलो हिस्सा हो । संसारभरका विभिन्न टेलिभिजन र ओटीटी  प्लेटफर्महरूलाई खेल प्रत्यक्ष प्रसारणको अधिकार बेचेर फिफाले करिब ३.९ देखि ४.३ अर्ब डलर आम्दानी गर्नेछ ।

त्यसैगरी टिकट र हस्पिटालिटी बाट करिब ३ अर्ब डलर आम्दानी हुने अनुमान छ । यसपाली पहिलो पटक फिफाले मागअनुसार टिकटको मूल्य घटबढ हुने ‘डाइनामिक प्राइसिङ’  प्रणाली र आधिकारिक रिसेल प्लेटफर्म ल्याएको छ। अनि यसपाली तीनवटै देशका रंगशालाका सिट क्षमता धेरै भएकोले पनि आम्दानीको आकार बढेको हो । 

त्यस्तै विभिन्न बहुराष्ट्रिय कम्पनीहरू जस्तै अरामको, लेनोभो आदि सँगको साझेदारी र व्यावसायिक सम्झौताबाट करिब १.८ देखि २.८ अर्ब डलर संकलन हुने प्रक्षेपण छ । साथै लाइसेनिंगबाट पनि फिफाले १०० मिलियन डलर आम्दानी गर्नेछ । फिफाको ब्रान्ड र लोगो प्रयोग गर्ने सामग्री तथा भिडियो गेमहरूबाट यो आम्दानी उठ्नेछ । 

खर्च कसरी गरिन्छ ? 

फिफा गैर नाफामूलक संस्था हो । फिफाले आर्जन गरेको आम्दानीको ठूलो हिस्सा करिब ११.६७ अर्ब डलर विश्व फुटबलको विकास र प्रतियोगिता सञ्चालनमा पुनर्लगानी गर्ने प्रतिवद्धता जनाएको छ । त्यसको लागि फिफासँग निश्चित खर्चको कार्यक्रम छ । 

सबैभन्दा पहिले विश्वकप सञ्चालन र व्यवस्थापनमै खर्च हुने फिफाले जनाएको छ । यसमा फिफाको ठूलो हिस्सा अर्थात ३.८ अर्ब अमेरिकी डलर खर्च हुनेछ । खेल र टोलीहरूको संख्या बढेकाले विश्वकप सञ्चालन बजेट पनि बढ्ने नै भयो । 

यस अन्तर्गत रंगशाला व्यवस्थापन, सुरक्षा, टोलीहरूको यात्रा, होटल, फ्यान जोनहरूका लागि बजेट र आवास खर्च मुख्य रुपमा आउँछ । 

अर्कोतर्फ पुरस्कारमा फिफाको ठूलो बजेट खर्च हुने गर्छ । यसपाली फिफाले २०२६ विश्वकपका लागि इतिहासकै सबैभन्दा धेरै  ८७१ मिलियन अमेरिकी डलरको प्याकेज (पुरस्कार र तयारी खर्च) स्वीकृत गरेको छ । जस्तै यसपाली विश्व च्याम्पियन हुने टोलीले पाँच करोड अमेरिकी डलर प्राप्त गर्नेछ । 

त्यस्तै सहभागी टोलीले कम्तीमा ९ मिलियन डलर पुरस्कार र तयारी खर्चसहित झण्डै १२.५ मिलियन डलर पाउनेछन् ।

त्यसैगरी ‘क्लब बेनिफिट्स’ कार्यक्रम अन्तर्गत विश्वकपका लागि आ-आफ्ना स्टार खेलाडीहरू राष्ट्रिय टोलीमा पठाउने संसारभरका फुटबल क्लबहरूलाई क्षतिपूर्ति स्वरूप फिफाले ३५५ मिलियन डलर छुट्याएको छ । यस अन्तर्गत खेलाडी विश्वकपमा रहुन्जेल क्लबहरूले दैनिक ११ हजार डलरसम्म पाउँछन् ।

विश्व फुटबल विकास कोष खर्चको अर्को ठूलो पाटो हो । विश्वकपबाट कमाएको आम्दानीको करिब २.७ अर्ब डलर फिफाका २११ सदस्य राष्ट्रहरू र ६ वटा महादेशीय फुटबल महासंघहरूलाई अनुदानका रूपमा बाँडिनेछ ।

त्यस्तो रकम फिफाले फिफा फरवार्ड ३.० कार्यक्रम अन्तर्गत रहेर वितरण गर्ने गर्छ । यो रकम तल्लो स्तरमा फुटबल खेलको पूर्वाधार विकास, प्रशिक्षण र महिला फुटबलको प्रवर्द्धनमा खर्च गर्नुपर्ने हुन्छ । यसपटक यसको रकम बढाएर प्रति राष्ट्र अधिकतम ८० लाख डलर पुर्‍याएको बताइएको छ। 

नेपालले कति पाउँछ  ?

फिफा फरवार्ड ३.० अन्तर्गत एन्फाले पनि रकम प्राप्त गर्दै आएको छ । फिफाले यसपालिको विश्वकप आम्दानीबाट प्रत्येक सदस्य राष्ट्रलाई ८० लाख अमेरिकी डलर दिने बताएअनुसार अब नेपालले १ अर्ब २२ करोड रुपैयाँ बराबरको रकम प्राप्त गर्नेछ । 

यसअघि २०२२ को विश्वकप आम्दानीबाट प्रत्येक सदस्य राष्ट्रलाई १० लाख अमेरिकी डलर वितरण गरिएको थियो । यद्यपी फिफाले यो रकम सिधा उपलब्ध गराउँदैन । फिफाले अफिस सञ्चालन, फुटबल विकास परियोजना, प्रतियोगिता सञ्चालन, पूर्वाधार विकास, क्षमता विकास, राष्ट्रिय टोली सहयोग र अन्य विकास परियोजनाहरूमा गरी विभिन्न शीर्षकमा उपलब्ध गराउने हो । 

यी कार्यक्रमहरु एन्फाले सञ्चालनको स्विकृती पाएपछि फिफाको नियम, प्रतिवेदन, लेखापरीक्षण तथा स्वीकृत विकास परियोजनाको प्रगतिको आधारमा किस्ता किस्तामा निकासा गर्ने गर्छ । यदि सदस्य राष्ट्रहरुले उल्लेखित परियोजनाहरुमा काम गर्न सकेनन् भने त्यो रकम पाउने छैनन् । यदि एन्फाले प्राप्त गर्ने रकम उसले गर्ने कामको आधारमा तय हुनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार